पार्टी कार्यालयबाटै संवादमार्फत काँग्रेसलाई एकताबद्ध बनाउन विश्वप्रकाश शर्माको अपिल

8 Shares

नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अदालतको बाटो नभई पार्टी कार्यालयमै बसेर संवादको माध्यमबाट काँग्रेसको विवाद समाधान गर्नुपर्ने बताउनुभएको छ । शनिवार काँग्रेसले आयोजना गरेको ग्रिन रनको क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले पार्टीभित्रका विवाद समाधान पार्टी कार्यलयमा बसेर गर्नको लागी आह्वान गर्नुभयो । काँग्रेस नयाँ सोच, दृष्टिकोण र ऊर्जासहित अघि बढिरहेको भन्दै उहाँले काँग्रेसको संस्थापन ईतरका नेताहरुलाई संवादमार्फत पार्टीलाई एकतावद्ध बनाउन आग्रह गर्नुभयो ।

मुद्दा मामिलाको बाटो संविधानको, कानुनले दिएको भएपनि त्यसले मात्रै समाधान नदिने उहाँको भनाई छ । उहाँले असोजमा महाधिवेशन हुने भएकोले नेतृत्वमा प्रतिस्पर्धा गर्न सबैलाई खुला रहेको बताउनुभयो । विशेष महाधिवेशनबाट आएको नेतृत्व पाँच वर्षका लागि निरन्तर नरहने उहाँको भनाई छ । उहाँले कांग्रेसभित्र देखिएको विवादलाई संवाद र सहमतिबाट समाधान गर्दै पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

विशेष महाधिवेशनको वैधानिक प्रक्रियालाई लिएर काँग्रेसभित्र आन्तरिक विवाद छ । उक्त विवाद अदालतसम्म पुगेको छ । यस्तै काँग्रेस संस्थापन पक्षले असोजमा घोषणा गरेको महाधिवेशनलाई रोक्न संस्थापन ईतर समूह अदालत जाने तयारीमा छ ।