पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई स्वास्थ्य परीक्षणपछि फेरि जेलमा पठाइयाे

39 Shares

एजेन्सी। पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई शुक्रबार बिहान इस्लामाबादमा रहेको शिफा इन्टरनेशनल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर फेरि जेलमा पठाइएको छ ।

पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारले खानलाई नेत्ररोग विशेषज्ञ, मुटुरोग विशेषज्ञ र फिजिसियनसहितको टोलीले जाँच गरेको बताउनुभएकाे हाे। परीक्षणपछि डाक्टरहरूले पूर्वप्रधानमन्त्री खान ‘चिकित्सकीय रूपमा तन्दुरुस्त’ रहेको बताएकाे बीबीसीले जनाएको छ । सर्वोच्च अदालतले गएको मंगलबार खानलाई ४८ घण्टाभित्र अस्पताल लगेर स्वास्थ्य परीक्षण गराउन आदेश दिएको थियो ।

खान भ्रष्टाचारकाे आराेपमा सन् २०२३ देखि जेलमा हुनुहुन्छ । उहाँले आफूमाथि लागेका आरोपहरू राजनीतिक प्रतिशोधबाट प्रेरित रहेको दावी गर्दै आउनुभएको छ । पूर्वप्रधानमन्त्री खानका वकिलहरूले विभिन्न समस्याबाट ग्रसित भए पनि विशेषज्ञ चिकित्सकबाट उपचार हुन नसकेको दावी गर्दै आएका थिए ।

पाकिस्तानको राष्ट्रिय क्रिकेट टोलीको कप्तान समेत रहनुभएका खान सन् २०१८ देखि २०२२ सम्म देशको प्रधानमन्त्री बन्नुभएको थियो ।