राष्ट्रिय सभामा नेकपा (एमाले) की सांसद रुक्मिणी कोईरालाले नेपालको संविधानले व्यवस्था गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन आवश्यक कानूनहरूको निर्माण र अधिकारको बाँडफाँड तत्काल हुनुपर्ने बताउनुभएको छ । शुक्रवार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद कोईरालाले संविधान जारी भएको १० वर्ष पुग्न लाग्दा समेत तीन वर्षभित्र बनिसक्नुपर्ने कतिपय कानुनहरू हालसम्म निर्माण हुन नसक्नुले संघीयता कमजोर बनेको उल्लेख गर्नुभयो । सांसद कोईरालाले संघीयता कमजोर हुनु भनेको जनताले पाउने सामाजिक न्यायमा समेत ह्रास आउनु रहेको तर्क गर्नुभयो । उहाँले संघीय निजामती सेवा सम्बन्धी कानूनलाई छिटोभन्दा छिटो प्रभावकारी बनाउनुपर्ने माग गर्नुभयो । संविधानको अनुसूचीमा उल्लेखित स्थानीय तहका २२ वटा एकल अधिकारहरू अझै पनि पूर्ण रूपमा प्रयोगमा आउन नसकेको प्रति उहाँले सरकारको ध्यानाकर्षण गराउनु भयो । हिमाल आरोहण, चिया उत्पादन र प्राकृतिक स्रोतको रोयल्टीका विषयमा संघ, प्रदेश र स्थानीय तहबीच समन्वयको अभाव देखिएको उहाँको भनाइ छ । कतिपय विद्यमान कानूनहरू आपसमा बाझिएका कारण काम गर्न कठिनाइ भएको भन्दै उहाँले राष्ट्रिय सभा र प्रतिनिधि सभाले समयमै ऐन निर्माण नगर्दा संघीयता कार्यान्वयन प्रभावित भएको बताउनु भयो । सांसद कोईरालाले तीन तहका साझा अधिकारका विषयमा क्षेत्राधिकार स्पष्ट नहुँदा कार्यक्षेत्रमा हस्तक्षेप र अन्योल सिर्जना भएको उल्लेख गर्नुभयो । कोशी प्रदेशको सन्दर्भ जोड्दै उहाँले संरक्षित क्षेत्र लगायतका प्राकृतिक स्रोतको रोयल्टी संघमा मात्र केन्द्रित नगरी प्रदेशलाई समेत हस्तान्तरण गर्नुपर्ने धारणा राख्नुभयो । कोशी अस्पताललाई तत्काल प्रदेश मातहत हस्तान्तरण गर्न समेत उहाँले सरकारसँग आग्रह गर्नुभयो
फेसबुकबाट तपाईको प्रतिक्रिया