काठमाडौं । बाजुराको गौमुल गाउँपालिका-३ कटीगाउँमा आज दिउँसो वर्षासँगै आएको पहिरोले दुई घर पुरिएका छन् । अविरल वर्षासँगै घरमाथिबाट खसेको पहिरोले दुई घर वटा पूर्ण रूपमा क्षति भएका हुन् ।
गौमुल-३ का वडाध्यक्ष गोरखबहादुर बोहराका अनुसार पहिरोले स्थानीय बुदी बोहरा र पूर्णिमल बोहराको घरसँगै भित्र रहेका पशुचौपाया समेत पुरिएका छन् । एक्कासी माथिबाट आएको पहिरोले घर पूर्ण रूपमा पुरिएका बताउँदै उनले आसपासका अन्य घर पनि पहिरोको उच्च जोखिममा रहेका जानकारी दिए । भिरालो जमिनका कारण तलका घर जोखिममा परेका उनको भनाइ छ ।
लगातार भारी वर्षा भइरहनुका साथै अहिले अँध्यारो भइसकेकाले उद्धार कार्यमा कठिनाइ भइरहेको स्थानीय भरत बोहराले बताए । उनका अनुसार गाउँका थप २० परिवार पहिरोको उच्च जोखिममा छन् ।
पहिरो दिउँसोको समयमा गएकाले घरभित्र रहेका स्थानीय सुरक्षित स्थानमा गएका भन्दै मानवीय क्षति भने नभएको वडाध्यक्ष बोहराले जानकारी दिए । उनका अनुसार घरभित्र रहेका अन्नपात, भाँडाकुँडा, धनमाल, पशुचौपाया सबै पुरिएका छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार गाउँपालिकाको केन्द्र घट्मुनाबाट प्रहरीसहितको टोली त्रिपाल, पाललगायत उद्धारका लागि आवश्यक सामग्रीसहित घटनास्थलमा खटिएको छ । केन्द्रबाट घटनास्थल पुग्न करिब चार घण्टा पैदल हिँड्नुपर्ने बताउँदै उक्त घटनाको यकिन विवरण प्राप्त हुन नसकेको उनले जानकारी दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया