नक्कली शरणार्थी प्रकरणः टोपबहादुरलाई ४ वर्ष र बालकृष्ण खाणलाई २ वर्ष कैद सजाय

16 Shares

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय निर्धारण गरेको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले आज रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना र खाणलाई २ वर्ष कैद र २० हजार जरिबाना तोकिएको हो । गत साता नेपालीहरूलाई भुटानी नक्कली शरणार्थी बनाएर लैजाने प्रकरणको फैसला गरेको जिल्ला अदालतले आज सजाय निर्धारण गरेको हो ।

अदालतले रायमाझीलाई ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा दोषी ठहर गरेको थियो । ठगीमा २ वर्ष कैद र २० हजार जरिबाना, स‌ंगठित अपराधमा तीन वर्ष कैद र ३० हजार जरिबाना, राज्यविरुद्धको कसुरमा एकवर्ष ६ महिना कदै र १५ हजार जरिबाना र यही कसुरमा थप ६ महिना थप कैद गरिएको छ । यो सबै गर्दा उनले एकीकृत रुपमा ४ वर्ष कैद र ४० हजार जरिबाना हुने फैसला छ ।

त्यस्तै, खाणलाई ठगीमा १ वर्ष कैद र १० हजार जरिबाना, संगठित अपराधमा १ वर्ष ६ महिना कैद र १५ हजार जरिबाना निर्धारण गरिएको छ । राज्यविरुद्धको कसुरमा ६ महिना कैद र पाँच हजार जरिबाना तोकिएको छ। त्यस्तै थप तीन महिना कैद तोकिएको छ। अदालतले एकीकृत तर्फ दुई वर्ष कैद र २० हजार जरिबाना निर्धारण गरेको छ ।

नक्कली शरणार्थी प्रकरणमा न्यायाधीश खड्काको इजलासले असार २४ गते रायमाझी र खाणसहित १६ जनालाई दोषी ठहर गरेको थियो भने सात जनाले सफाइ पाएका थिए ।