काठमाडौँ । चितवनमा पहिलोपटक आयोजना हुन लागेको अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप कात्तिक १३ गतेदेखि हुने भएको छ । चितवन तेक्वान्दो डोजाङको आयोजनामा प्रथम सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप २०२६ कात्तिक १३ देखि १५ गतेसम्म सञ्चालन हुने भएको हो । चितवनमा पहिलोपटक यति ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुन लागेको चितवन तेक्वान्दो डोजाङका प्रमुख रोशन खानले जानकारी दिए । चितवनस्थित राप्ती नगरपालिकाको भण्डारामा आयोजकले पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो ।
नेपालका सातवटै प्रदेशसहित भारत, माल्दिभ्स, मलेसिया, अस्ट्रेलिया, बंगलादेश, सिंगापुर, साउदी अरेबिया र जापानलगायतका करिब आठ सय खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अन्तर्राष्ट्रिय संयोजक अशोक खड्काले जानकारी दिए ।
च्याम्पियनसिपमा पुम्से र ग्योरोगी विधाअन्तर्गत विभिन्न उमेर तथा तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । रत्ननगरपालिकास्थित सौराहको रत्ननगर सभाहलमा खेल सञ्चालन हुने भएको छ ।
चितवन तेक्वान्दो डोजाङका प्रमुख रोशन खानले चितवनमा तेक्वान्दो खेलको विकास गर्ने र नेपाली खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको अवसर दिने उद्देश्यले सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप आयोजना गर्न लागिएको बताए ।
प्रतियोगितामा टिम च्याम्पियनले ५० हजार रुपैयाँ, दोस्रो हुने टोलीले ३० हजार र तेस्रो हुने टोलीले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताका संयोजक प्रज्वल दवाडीका अनुसार ग्योरोगीतर्फ सब जुनियर (९–११ वर्ष), क्याडेट (१२–१४ वर्ष), जुनियर (१५–१७ वर्ष) र सिनियर (१८ वर्षमाथि) तथा पुम्सेमा गरी कुल ६४ स्वर्ण, ६४ रजत र १२८ कांस्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
नेपाल तेक्वान्दो संघ, बागमती प्रदेश तेक्वान्दो संघ र चितवन जिल्ला तेक्वान्दो संघको सहयोग तथा समन्वयमा च्याम्पियनसिप आयोजना हुन लागेको हो । प्रतियोगिताका अन्तर्राष्ट्रिय संयोजक अशोक खड्काले उत्कृष्ट पुम्से पुरुष, उत्कृष्ट पुम्से महिला, उत्कृष्ट ग्योरोगी पुरुष, उत्कृष्ट ग्योरोगी महिला, उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट रेफ्रीलाई जनही १०० अमेरिकी डलर पुरस्कार प्रदान गरिने जानकारी दिए ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीबीच प्रतिस्पर्धा गराएर उनीहरूको क्षमता अभिवृद्धि र अनुभव आदानप्रदान गर्ने आयोजकको लक्ष्य छ । साथै, खेलमार्फत सौराहाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य पनि राखिएको छ । सौराहालाई खेलकुद पर्यटनको गन्तव्यका रूपमा स्थापित गर्ने र चितवनको पहिचान अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया