काठमाडौं। गृहमन्त्री सुधन गुरुङले आत्मदाहको प्रयास गरेका गणेश नेपालीको मोटरसाइकलमा ट्राफिक प्रहरीले नभई काठमाडौं महानगरपालिकाको नगर प्रहरीले ह्वील लक लगाएको दाबी गर्नुभएको छ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै गृहमन्त्री गुरुङले घटनालाई लिएर उठाइएका प्रश्नहरूको जवाफ दिँदै ट्राफिक प्रहरीमाथि लगाइएका आरोप सही नभएको स्पष्ट पार्नुभयो। उहाँले मोटरसाइकलमा ह्वील लक लगाउने काम ट्राफिक प्रहरीले नगरेको र उक्त कार्य महानगरको नगर प्रहरीले गरेको बताउनुभयो।
यस क्रममा उहाँले विपक्षी दलतर्फ लक्षित गर्दै स्थानीय र प्रदेश सरकारको जिम्मेवारीबारे पनि प्रश्न उठाउनुभयो। उहाँले भन्नुभयो, “ट्राफिकले ह्वील लक लगाएको होइन, नगर प्रहरीले लगाएको हो। विपक्षी दलका साथीहरूलाई सोध्न चाहन्छु– स्थानीय सरकार कसको छ अहिले? राष्ट्रिय स्वतन्त्र पार्टीको छ? प्रदेश सरकार कसको छ? राष्ट्रिय स्वतन्त्र पार्टीकै छ। दुई तहको सरकार त तपाईंहरूसँग छ।”
गृहमन्त्री गुरुङले सरकारले नयाँ कानुन बनाएर नभई पहिलेदेखि लागू रहेको कानुनकै कार्यान्वयन गरेको जिकिर गर्नुभयो। घटनालाई राजनीतिक रंग दिनुभन्दा तथ्यका आधारमा मूल्याङ्कन गर्नुपर्ने उहाँको भनाइ थियो।
आत्मदाहको प्रयासपछि गणेश नेपालीको उपचारका लागि सरकारले तत्काल उद्धार र उपचारको सबै प्रयास गरेको पनि उहाँले जानकारी दिनुभयो। आवश्यक परे भारतमा थप उपचारका लागि पठाउने विषयमा समेत सम्बन्धित निकायसँग समन्वय गरिएको तर त्यसअघि नै गणेश नेपालीको रक्तचाप (ब्लड प्रेसर) अत्यन्तै कम भएकाले अवस्था जटिल बनेको जानकारी चिकित्सकहरूले दिएको उहाँले सदनलाई अवगत गराउनुभयो।
उहाँका अनुसार सरकारले गणेश नेपालीको जीवन बचाउन सकिने सबै सम्भावित प्रयास गरेको भए पनि स्वास्थ्य अवस्था अत्यन्त गम्भीर बनेकाले अपेक्षित सफलता प्राप्त हुन सकेन।
गृहमन्त्री गुरुङको अभिव्यक्तिपछि प्रतिनिधिसभामा उक्त घटनालाई लिएर सरकारको भूमिका, स्थानीय सरकारको जिम्मेवारी तथा कानुन कार्यान्वयनको विषयमा सांसदहरूबीच थप बहस भएको थियो। गणेश नेपालीको आत्मदाह प्रयासको घटनाले सार्वजनिक सेवा, पार्किङ व्यवस्थापन, कानुन कार्यान्वयन र नागरिकसँग राज्यका निकायको व्यवहारबारे गम्भीर प्रश्न उठाएको भन्दै सदनमा विभिन्न धारणा व्यक्त भएका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया