इजरायलद्वारा लेबनानमा नयाँ निकासी आदेश जारी

15 Shares

काठमाडाैं । इजरायली सेनाले शनिबार दक्षिणी लेबनानका सात वटा गाउँका बासिन्दाहरूको लागि नयाँ निकासी आदेश जारी गरेको प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बताएका छन् । पछिल्लो चेतावनी दुई देशका सैन्य प्रतिनिधिमण्डलहरूले वासिङ्टनमा ऐतिहासिक सुरक्षा वार्ता गरेको एक दिन पछि आएको हो ।

इजरायलले दक्षिण लेबनानमा निरन्तर आक्रमण जारी राखेको छ भने राष्ट्रपति जोसेफ आउनले अमेरिकी विदेश मन्त्री मार्को रुबियोसँगको फोनवार्तमा युद्धविरामका लागि सबै प्रयासहरू गर्न आवश्यक रहेको कुरामा जोड दिएका छन् । इजरायल र तेहरान समर्थित हेजबुल्लाह बीचको लडाइँ रोक्नको लागि आधिकारिक रूपमा अप्रिल –१७ देखि लागू भएको युद्धविरामको बावजुत आक्रमण जारी रहेको छ ।

इजरायल र हेजबुल्लाह दुवैले एक अर्कालाई युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै आएका छन् । शनिबारका लागि जारी गरिएको इजरायली सेनाको निकासी आदेशमा नबातीह नजिकैका केही गाउँहरू समावेश रहेको जनाइएको छ भने, हेजबुल्लाहले उत्तरी इजरायली सहर किर्यात शमोनामा रकेट प्रहार गरेको बताएको छ । हेजबुल्लाहले दक्षिणी लेबनानको घन्डोरीयेह नजिकैका इजरायली सैनिकहरू माथि आक्रमण गरी उनीहरूलाई पछि हट्न बाध्य पारेको र उत्तरी इजरायलको सैन्य आधारमा रकेट प्रहार गरेको बताएको छ ।

शुक्रबार, हेजबुल्लाहले उत्तरी इजरायलमा आक्रमण गरेको बताएको थियो भने इजरायली सेनाले लेबनानबाट आएका धेरै प्रोजेक्टाइलहरू रोकेको पुष्टि गरेको थियो । जसमध्ये एउटा किर्यात समोना नजिकै प्रहार भएको थियो । हेजबुल्लाहले मध्ययुगीन ब्युफोर्ट किल्ला नजिकै अगाडि बढ्न खोज्ने इजरायली सेना माथि आक्रमण गरेको पनि बताएको छ ।इजरायली सेना लेबनान–इजरायल सीमाबाट करिब ३० किलोमिटर उत्तरबाट अगाडि बढेको बताइएको छ ।

इजरायल र लेबनानले अप्रिलमा प्रत्यक्ष वार्ता सुरु गरेका थिए भने पेन्टागनमा शुक्रबारको बैठक पछि वाशिंगटनमा अर्को हप्ता चौथो चरणको वार्ता हुने अपेक्षा गरिएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार दक्षिणी सहर टायरमा शुक्रबार भएको इजरायली आक्रमणमा ११ जनाको मृत्यु भएको छ ।मार्चको सुरुमा अमेरिका–इजरायली आक्रमणमा इरानका सर्वोच्च नेताको मृत्युको बदलामा इजरायलमा रकेट प्रहार गरे पछि लेबनान क्षेत्रीय युद्धमा तानिएको थियो ।

हेजबुल्लाहले अमेरिकी प्रतिनिधिहरूसँग वार्ताको कडा विरोध गर्दै निशस्त्रीकरण गर्न अस्वीकार गरेको छ । शुक्रबार लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले दक्षिणमा २० वटा भन्दा बढी स्थानमा इजरायली हवाई आक्रमण भएको रिपोर्ट गरेको छ । सयौं मानिसहरू तथा पर्यटकहरु पुरानो सहर टायरमा भागेका छन्, जुन हालैको इजरायली सेनाको निकासी आदेशमा समावेश गरिएको छैन ।

आश्रयहरू भरिएका कारण विस्थापित बासिन्दाहरू कार वा शिविरमा सुतिरहेको एएफपीले जनाएको छ ।लेबनानको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणले मार्च –२ देखि कम्तिमा तीन हजार ३५५ जना व्यक्तिको ज्यान लिएको छ ।