संयुक्त राज्य अमेरिका र इरानबीचको बढ्दो द्वन्द्व तथा सीमा क्षेत्रमा देखिएको तनावका कारण अफगानिस्तानका व्यापारी र श्रमिकहरूको जीविकोपार्जनमा गम्भीर संकट उत्पन्न भएको छ । अफगानिस्तान र इरानबीचको प्रमुख व्यापारिक नाका मानिने हेरातस्थित ‘इस्लाम कला’ मा यसको प्रत्यक्ष प्रभाव देखिएको छ । हेरात सहरबाट करिव १२० किलोमिटर दूरीमा रहेको इस्लाम कला नाका अफगानिस्तानको पश्चिमी क्षेत्रका लागि व्यापार र पारवहनको मेरुदण्ड मानिन्छ ।
यस नाकाबाट दैनिक हजारौँको संख्यामा यात्रुहरू र ठूलो परिमाणमा व्यापारिक मालसामान आयात–निर्यात हुने गर्दछ । तर पछिल्लो समय अमेरिका र इरानबीचको तनावले यस क्षेत्रको आर्थिक गतिविधिलाई सुस्त बनाएको छ । इस्लाम कला नाकामा विगत १५ वर्षदेखि मुद्रा सटहीको काम गर्दै आएका अनुभवी व्यवसायी नजीर अहमदका अनुसार द्वन्द्वका कारण व्यापारिक सामानको आपूर्तिमा कमी आएको छ र मानिसहरूको आवतजावत पनि पातलिएको छ ।
अहमदले चिनियाँ समाचार संस्था सिन्ह्वालाई दिएको जानकारीअनुसार यो तनावले सर्वसाधारणको दैनिक जीवनमा ठूलो आर्थिक बोझ थपेको छ । इरानबाट आयात हुने खाद्यान्नको मूल्यमा तिब्र वृद्धि भएको छ । द्वन्द्वका कारण छिमेकी मुलुकहरूले समेत आर्थिक र सामाजिक दुष्परिणाम भोग्नुपरिरहेको उनको ठम्याइ छ । इस्लाम कला नाकामै यात्रुहरूको भारी बोक्ने काम गर्ने श्रमिक मौजनकाअनुसार अफगानिस्तान–पाकिस्तान सीमा नाकाहरू बन्द भएका कारण इस्लाम कलामा व्यापारिक चाप त बढेको छ, तर इरान–अमेरिका तनावले गर्दा श्रमिकहरूको आम्दानीमा भने गिरावट आएको छ ।
उनले देशमा कलकारखाना स्थापना गरी रोजगारीका अवसरहरू वृद्धि गर्न सरकारसँग माग गरेका छन् । यसैबीच, स्पिन बोल्डक सीमा नाकाका व्यापारी फजल मोहम्मद वतन दोस्तले विगत १० महिनादेखि आफ्नो व्यवसाय पूर्ण रूपमा ठप्प भएको बताएका छन् । नाका निरन्तर बन्द रहँदा व्यापारी, पसल सञ्चालक र मजदुरहरू बेरोजगार भएका छन् । वतन दोस्तकाअनुसार गत वर्ष उनले ६० जनालाई रोजगारी दिएका थिए ।
तर अहिले ती सबै बेरोजगार छन् । उनले सीमा नाका तत्काल सञ्चालनमा ल्याउन अपिल गरेका छन् । भौगोलिक र राजनीतिक रूपमा संवेदनशील अवस्थामा रहेको अफगानिस्तानका लागि छिमेकी मुलुकहरूसँगको व्यापारिक सम्बन्ध र अन्तर्राष्ट्रिय तनावले जनजीवनमा प्रत्यक्ष प्रभाव पारिरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया