दक्षिण कोरियाकी पूर्वप्रथम महिला किम केओन–हीविरुद्ध भ्रष्टाचार मुद्दा, साढे सात वर्ष जेल सजाय माग

23 Shares

एजेन्सी । दक्षिण कोरियाका विशेष अभियोजनकर्ताले पूर्वराष्ट्रपति युन सुक–योलकी पत्नी किम केओन–हीलाई भ्रष्टाचार र सरकारी पदको दुरुपयोग गरेको आरोपमा साढे सात वर्ष जेल सजाय माग गरेका छन्।

पूर्वराष्ट्रपति दम्पती संलग्न भ्रष्टाचार प्रकरणको अनुसन्धान गरिरहेको स्वतन्त्र काउन्सिल मिन जुङ–की नेतृत्वको टोलीले सियोल केन्द्रीय जिल्ला अदालतमा किमलाई सात वर्ष ६ महिनाको कारावास सजाय तोक्न माग गरेको हो। किममाथि महँगा गहना, चित्रकला तथा डिजाइनर ब्यागको बदलामा सरकारी पद उपलब्ध गराएको आरोप लगाइएको छ।

अभियोगपत्रअनुसार किमले सन् २०२२ को मार्चदेखि मे महिनासम्म एक व्यवसायीका जेठा ज्वाइँलाई सरकारी पदमा नियुक्त गराइदिए बापत हार, ब्रोच र झुम्का लिएकी थिइन्। त्यस्तै, राष्ट्रिय शिक्षा आयोगका पूर्व प्रमुखबाट नियुक्ति गरिदिने शर्तमा ‘सुनको कछुवा’ तथा एक रोबोट डग उद्यमीलाई व्यावसायिक लाभ दिलाउने आश्वासन दिँदै घडी उपहार लिएको दाबी गरिएको छ।

अन्य आरोपहरूमा एक पादरीबाट महँगो डिजाइनर ब्याग तथा एक पूर्व सरकारी वकिलबाट मनोनयन सिफारिसको बदलामा चित्रकला प्राप्त गरेको विषय पनि समावेश छन्।

सन् २०२५ को अगस्टमा हिरासतमा लिएर अभियोग दर्ता गरिएकी किम केओन–ही दक्षिण कोरियाको इतिहासमा थुनामा राखेर मुद्दा चलाइएकी पहिलो पूर्वप्रथम महिला हुन्।

यसअघि पूर्वराष्ट्रपति युन सुक–योललाई सन् २०२४ को डिसेम्बरमा सैन्य शासन घोषणा गरी राज्यद्रोह गरेको अभियोगमा गत फेब्रुअरीमा आजीवन कारावास सजाय सुनाइएको थियो। उनी बहालवाला अवस्थामा पक्राउ पर्ने र अभियोग सामना गर्ने दक्षिण कोरियाका पहिलो राष्ट्रपति समेत बनेका थिए।