उत्तर भारतमा भारी वर्षा र चट्याङका कारण ८० भन्दा बढीको मृत्यु

35 Shares

काठमाडौं । उत्तर भारतका विभिन्न क्षेत्रमा विगत २४ घण्टामा भएको भारी वर्षा, हावाहुरी र चट्याङका कारण ८० जनाभन्दा बढीको मृत्यु भएको छ भने १०० जनाभन्दा बढी घाइते भएका छन् ।

सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारीअनुसार यो प्राकृतिक विपद्बाट सबैभन्दा बढी उत्तर प्रदेश राज्य प्रभावित भएको छ । भारी वर्षासँगै आएको असिना र तिब्र गतिको हावाहुरीले त्यहाँको जनजीवन अस्तव्यस्त बनाएको छ ।

विपद्का कारण उत्तर प्रदेशका विभिन्न स्थानमा ठूलो संख्यामा पशुचौपायाको क्षति हुनुका साथै घर तथा अन्य भौतिक सम्पतीमा नोक्शानी पुगेको रिपोर्ट गरिएको छ । हजारौं रूखहरू ढलेका छन् भने कतिपय स्थानमा पर्खाल भत्किँदा च्यापिएर मानवीय क्षति भएको छ ।

उत्तर प्रदेशको प्रयागराज जिल्ला यस विपद्बाट सबैभन्दा बढी प्रभावित भएको छ, जहाँ मात्रै करिब २० जनाको मृत्यु भएको छ ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सबै जिल्लाका राहत आयुक्तहरूलाई प्रभावित क्षेत्रमा तत्काल उद्धार र राहत कार्य अघि बढाउन निर्देशन दिएका छन् । उनले पीडित परिवारलाई सम्भावित सबै सहयोग र सहायता उपलब्ध गराउन समेत आदेश दिएका छन् ।