मनसुनजन्य विपदबाट २ लाख २६ हजार नागरिक प्रभावित हुने अनुमान

30 Shares

काठमाडौँ । विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समिति ले यस वर्ष मनसुनजन्य विपदबाट देशभर करिब २ लाख २६ हजार ६ सय ६१ जना प्रभावित हुन सक्ने अनुमान गरेको छ। प्रभावित हुने जनसंख्या करिब ५१ हजार ८ सय ६८ घरधुरीमा पर्ने उल्लेख गरिएको छ।

जल तथा मौसम विज्ञान विभाग का अनुसार यस वर्ष मनसुनमा औसतभन्दा कम वर्षा भए पनि तापक्रम औसतभन्दा बढी रहने प्रक्षेपण गरिएको छ। यसले विशेषगरी उच्च हिमाली क्षेत्रमा हिमताल विस्फोटन (GLOF) को जोखिम बढाउन सक्ने र त्यसको प्रभाव तल्लो तटीय क्षेत्रमा बाढी, पहिरो, डुबान, जमिन कटान तथा आकस्मिक बाढीका रूपमा देखिन सक्ने बताइएको छ।

बिहीबार बसेको कार्यकारी समितिको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना स्वीकृत गरेको छ। साथै, “खोज तथा उद्धार टोली गठन तथा परिचालन सम्बन्धी मापदण्ड, २०८३” परिमार्जनसहित पारित गरिएको छ, जसले विपद् हुनेबित्तिकै सरकारी संयन्त्र स्वतः परिचालित हुने कानुनी व्यवस्था सुनिश्चित गर्ने जनाएको छ।

बैठकबाट “कृत्रिम घटना अभ्यास सञ्चालन कार्यविधि, २०८३” पनि स्वीकृत भएको छ, जसको उद्देश्य विपद्को समयमा गरिने अभ्यासलाई प्रभावकारी र एकरूप बनाउनु हो। साथै, “निजी आवास पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि, २०८१” मा समेत केही संशोधन गरिएको छ।

यसैबीच, भूकम्पीय पुनर्निर्माण तथा पुनर्स्थापनाको कामलाई तीव्रता दिन जिल्ला आयोजना कार्यान्वयन इकाईहरूमा २१ जना प्राविधिक जनशक्ति खटाउने निर्णय पनि गरिएको छ।