काठमाडौं । सरकारले शैक्षिक संस्थामा हप्तामा दुई दिन सार्वजनिक बिदा लागू गरेपछि विद्यालयहरूको हिउँदे र वर्षे बिदामा कटौती गरिएको छ ।
दुई दिन बिदा दिँदा पाठ्यक्रम पूरा गर्न समस्या हुने भएपछि अन्य बिदा घटाइएको हो ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्र का अनुसार हिउँदे र वर्षे बिदाको साविक ४५ दिनको अवधि घटाएर अब ३० दिन कायम गरिएको छ ।
केन्द्रले प्रत्येक दिन १५ मिनेट प्रार्थना समय र ३० मिनेट खाजा समय व्यवस्थापन गर्ने निर्णय पनि गरेको जनाएको छ । साथै सोमबारदेखि शुक्रबारसम्म पूरा समय पठनपाठनसँग सम्बन्धित गतिविधि सञ्चालन गर्न विद्यालयहरूलाई निर्देशन दिइएको छ ।
पहिलो र दोस्रो त्रैमासिकमा गरिने आन्तरिक मूल्यांकन पठनपाठन भएकै दिन वा पढाइमा असर नपर्ने समयमा गर्न सकिने व्यवस्था गरिएको छ ।
त्यसैगरी अन्तिम परीक्षा तथा नतिजा प्रकाशनका लागि शैक्षिक सत्रको अन्तिम १२ दिन उपयोग गर्न सकिने उल्लेख गरिएको छ ।
यसअघि मन्त्रिपरिषद् बैठकले २०८२ चैत २२ गतेदेखि शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार गरी हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया