उद्योगीमाथि धरपकडले निजी क्षेत्र त्रसित, लगानी वातावरणमा असर पर्ने चेतावनी

27 Shares

काठमाडौं । नयाँ सरकार गठनसँगै मुलुकमा स्थिरता कायम भई लगानीमैत्री वातावरण बन्ने अपेक्षा गरिए पनि पछिल्ला दिनमा उद्योगी व्यवसायीमाथि भइरहेको धरपकडले निजी क्षेत्र निरुत्साहित बनेको व्यवसायी संगठनहरूले बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्स ले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै सरकारी निकायको पछिल्लो कदमप्रति गम्भीर चिन्ता व्यक्त गरेका हुन्। उनीहरूले उद्योगी व्यवसायीमाथि भइरहेको धरपकडका कारण निजी क्षेत्र त्रसित भएको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवाल द्वारा संयुक्त रूपमा जारी विज्ञप्तिमा निजी क्षेत्रले अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान पुर्‍याइरहेको उल्लेख गरिएको छ। यस्तो अवस्थामा निजी क्षेत्र नै त्रसित हुनुपर्ने अवस्था सिर्जना हुँदा त्यसको प्रत्यक्ष असर अर्थतन्त्र, रोजगारी, राजस्व संकलन तथा पूर्वाधार विकासमा पर्ने चेतावनी दिइएको छ।

विज्ञप्तिमा नियामक निकायका प्रतिवेदनका आधारमा सिधै पक्राउ गर्ने प्रवृत्तिभन्दा पहिले सम्बन्धित पक्षलाई सुनुवाइको अवसर दिनुपर्ने माग गरिएको छ। आर्थिक कसुर प्रमाणित भएपछि मात्र कारबाहीको प्रक्रिया अगाडि बढाउनुपर्ने उनीहरूको जोड छ। उद्यमी व्यवसायीहरू अनुसन्धानमा सहयोग गर्न तयार रहेको र प्रहरी बोलाएको समयमा उपस्थित हुन प्रतिबद्ध हुँदाहुँदै पनि पक्राउ गरिनुले निजी क्षेत्रलाई चिन्तित बनाएको उल्लेख गरिएको छ।

यस्ता गतिविधिले व्यक्तिगत मात्र नभई लाखौं रोजगारी, आपूर्ति प्रणाली, बैंकिङ क्षेत्र र समग्र आर्थिक प्रणालीमा गम्भीर असर पार्न सक्ने भन्दै सचेत गराइएको छ। निजी क्षेत्रले दोषी प्रमाणित भए कानुनअनुसार कारबाही हुनुपर्नेमा आफूहरूको पूर्ण समर्थन रहेको स्पष्ट पारेको छ।

साथै, नेपालको संविधानले प्रत्याभूत गरेको सम्मानपूर्वक बाँच्न पाउने अधिकार तथा कसुर प्रमाणित नभएसम्म निर्दोष मानिने सिद्धान्तको सम्मान गर्न सरकारलाई आग्रह गरिएको छ। पछिल्लो समय सरकारले नीति तथा कानुन निर्माणमा निजी क्षेत्रको सहभागिता बढाउने प्रयास गरिरहेको सन्दर्भमा यस्ता गतिविधिले थप अन्योल र सशंका उत्पन्न गरेको उनीहरूको भनाइ छ।

विगत केही वर्षदेखि शिथिल बन्दै गएको अर्थतन्त्र नयाँ सरकार गठनपछि गतिशील हुने अपेक्षा गरिए पनि हालका घटनाक्रमले लगानी वातावरणमा नकारात्मक सन्देश गएको व्यवसायीहरूको निष्कर्ष छ।