गुरुङ समुदायमा ट्होटेँको उल्लास

36 Shares

गण्डकी । गण्डक क्षेत्रका गुरुङ समुदायले आफ्नो पुस्तैनी पर्व ट्होटेँलाई आज उल्लासपूर्वक मनाइरहेका छन् ।

बर्सेनि चैत र साउनको अन्तिम मङ्गलबार गुरुङ बाहुल्य बस्तीमा ट्होटेँ पर्वको रौनक छाउने गर्छ ।

परापूर्व कालमा तमु राज्य जोगाउन बैरीलाई सीमा कटाएको सम्झना स्वरूप यस पर्वको सुरुआत भएको मानिन्छ ।

गुरुङ सभ्यता, संस्कृति र पहिचानसँग जोडिएको यस पर्व १५ सय वर्षदेखि अस्तित्वमा रहेको गुरुङ जातिको इतिहासमा उल्लेख छ ।

आदिमकालमा गुरुङहरू गुफा, गोठ हुँदै बस्ती विकासको सभ्यतामा आएपछि यो पर्वको परम्परा सुरु भएको तमु धिँ नेपालका केन्द्रीय सदस्य एवं भाषा तथा संस्कृति विभागका प्रमुख कृष्णकुमार गुरुङले बताए ।

बस्ती विकास हुँदै तमु राज्य स्थापनाको बेलामा आइपुग्दा ट्होटेँ पर्वले थप व्यापकता पाउँदै गएको उनको भनाइ छ ।

गुरुङ जातिका पूर्वजहरूले आफ्नो बस्ती र राज्यमा दुःख दिने शत्रुवैरीलाई धपाउनका लागि तन्त्रमन्त्र गरी यो पर्व मनाउन सुरु गरेका थिए ।

तम धिँ नेपालका केन्द्रीय सदस्य श्रीजङ्ग गुरुङले परापूर्व कालमा भूतप्रेत र शत्रुवैरीलाई धपाउन यस पर्वको सुरुआत भए पनि पछिल्लो समय देशमा रहेको बेथिति, बिसङ्गको अन्त्य होस्, मानज जातिको कल्याण होस् भन्ने कामना गरी मनाउने गरिएको बताए ।

मङ्गलबार गुरुङ जातिको पहिचान झल्काउने सांस्कृतिक झाँकीसहित पोखरामा रहेका गुरुङ समुदायले पनि यस पर्वलाई हर्षबढाइँका साथ मनाएको उनको भनाइ छ ।

तमु धिँ नेपालका अध्यक्ष हुम गुरुङका अनुसार गुरुङ भाषामा ट्हो भनेको राज्य वा गाउँबस्ती र टेँ भनेको राज्यलाई दुःख दिने शत्रुबैरीलाई सीमा नघाएर राज्य सुरक्षित गरेको अर्थमा लिने गरिएको छ ।

‘कबिला कालदेखि नै तमु (गुरुङ) का स–साना राज्य रहेको र त्यहाँबाट बैरी धपाउन पितापूर्खाहरूले ट्होटेँ पर्वको प्रचलन बसेको मान्यता गुरुङ समुदायमा छ’, उनले भने । धमु धिँ नेपालको अगुवाईमा यस पर्वलाई वि।सं २०५२ देखि व्यवस्थित रूपमा मनाउन थालिएको अध्यक्ष गुरुङले बताए । ट्होटेँमा प्रकृति पूजा गर्ने चलन रहेको छ ।

यस पर्वमा गुरुङहरू आफ्ना परम्परागत बाजागाजासहित जातिय पहिरनमा सजिएर झाँकीमा सहभागी हुने गर्छन् । ट्होटेँमा घाटु, सोरठी, चुट्का, कृष्ण चरित्रलगायत मौलिक संस्कृति प्रदर्शन गरिन्छ । यस पर्वमा गुरुङ जातिले प्रयोग गर्ने पुराना हातहतियार, पोशाक, बाजा, झ्याली, चोपडी, सुलाची, चिम्टालगायत सामग्री पनि प्रदर्शन गर्ने गरिएको छ ।

मौलिक वेशभुषामा सजिएर गुरुङहरू झाँकीमा सहभागी हुने गर्छन् । झाँकीमा युवादेखि बयस्कसम्मको सहभागिता रहने गर्छ ।

यस पर्वका दिन राति समूहमा बाजागाजा बजाउँदै गाउँ डुल्दा राक्षस र भूतप्रेत भाग्छन् भन्ने किम्बदन्ती छ ।

ट्होटेँमा आफ्ना पितृको स्मरण सँगसँगै प्रकृतिको पूजाआजा गर्ने चलन रहेको छ । गुरुङ राज्य र गाउँबस्तीमा कसैले आक्रमण नगरोस्, दुःख नदेओस् भनेर परापूर्वकालदेखि ट्होटेँ पर्व मनाउन सुरु गरिएको अध्यक्ष गुरुङले बताए ।

यो पर्व मनाउनाले गाउँलेको भलो हुने खेतीबाले सप्रने, रोगव्याधि हट्ने र प्राकृतिक विपत्ति नआउने जनविश्वास रहेको छ ।

पोखरासहित यस क्षेत्रका १४८ गुरुङ गाउँ र समाजघरमा ट्होटेँ पर्व मनाइएको हो । गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट पोखरा झरेका गुरुङहरूले ट्होटेँ पर्वलाई संरक्षण गरेका छन् ।

चैतमा उभौली र साउन उधौलीका रूपमा यो पर्वलाई मनाउने गरिन्छ । ट्होटेँले सामाजिक एकता र भातृत्वको सन्देश दिने गरेको गुरुङ अगुवा बताउँछन् ।

ट्होटेँ पर्वले तुम समुदायलाई आफ्नो इतिहासको पनि स्मरण गराउने गरेको उनीहरूको भनाइ छ । वि।सं २०४२ मा तमु धिँ नेपाल गठन भएपछि पोखरामा गुरुङ संस्कृति र संस्कारको जगेर्नामा यो समुदाय जागरूक बनेको हो ।

ट्होटेँका अवसरमा मङ्गलबार कास्कीको अन्नपूर्ण, मादी गाउँपालिका, स्याङ्जाको फेदीखोला गाउँपालिकालगायत स्थानीय तहले सार्वजनिक बिदासमेत दिएका छन् ।

मौलिक सांस्कृतिक पर्वका रूपमा रहेको ट्होटेँलाई कास्की, पर्वत, तनहुँ, स्याङ्जालगायत देशभरका गुरुङ समुदायले हर्षोल्लासपूर्वक मनाउने गर्छन् ।