पेट्रोलियम पदार्थमा ५० प्रतिशत कर छुट

39 Shares

काठमाडाैं । मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका कारण कच्चा तेलको मूल्य उच्च रूपमा वृद्धि भएपछि सरकारले स्थानीय उपभोक्तालाई राहत दिन पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डा. स्वर्णिम वाग्ले को प्रस्तावमा यस्तो निर्णय गरेको हो। निर्णयअनुसार पेट्रोल, डिजेल र मट्टितेलमा लाग्दै आएको भन्सार शुल्कमा ५० प्रतिशत कटौती गरिनेछ।

नेपाल आयल निगम का अनुसार हाल पेट्रोलमा प्रतिलिटर २५ रुपैयाँ भन्सार शुल्क लाग्दै आएकोमा अब घटेर १२.५ रुपैयाँ कायम हुनेछ। त्यस्तै, डिजेलमा प्रतिलिटर १२ रुपैयाँ रहेको भन्सार शुल्क घटेर ६ रुपैयाँमा झर्नेछ।

मन्त्रिपरिषद्ले भन्सार शुल्कसँगै पूर्वाधार करमा पनि ५० प्रतिशत छुट दिने निर्णय गरेको छ। हाल प्रतिलिटर १० रुपैयाँ रहेको पूर्वाधार कर घटाएर ५ रुपैयाँ कायम गरिनेछ।

निगमका अनुसार हाल डिजेलमा प्रतिलिटर १२० रुपैयाँ र पेट्रोलमा ३४ रुपैयाँ घाटा रहेको छ। पछिल्लो एक महिनामा मात्रै निगमले करिब ११ अर्ब रुपैयाँ घाटा व्यहोरेको जनाएको छ।