विमानस्थलमा यात्रु हैरानी दिएको आरोपमा १८ जना पक्राउ

165 Shares

काठमाडौं — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट प्रहरीले १८ जनालाई पक्राउ गरेको छ। विमानका यात्रुलाई दुःख दिने गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

पक्राउ पर्नेमा सर्लाहीका १८ वर्षीय सूर्य माझी, बाँकेका २२ वर्षीय एकेश तामाङ, पाँचथरका २६ वर्षीय प्रेमकुमार मगरसहित १८ जना रहेका छन्। शुक्रबार (चैत २०) राति करिब १० बजे उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरूले विमानस्थल परिसरमा यात्रुलाई जबरजस्ती तान्ने, दुःखहैरानी दिने, विभिन्न प्रलोभन देखाएर आफूहरूको सम्पर्कमा रहेका होटलमा लैजाने र त्यसबापत ‘कमिसन’ लिने, आपसमा झगडा तथा अभद्र व्यवहार गर्ने गरेका थिए।

पक्राउ परेका अन्य व्यक्तिहरूमा सिन्धुलीका राजकुमार राई, मकवानपुरका मंगलमान घलान, पाँचथरका खगेन्द्र लिम्बू, मोरङका आशिष खतिवडा, मकवानपुरका विश्व मोक्तान रहेका छन्। यस्तै धनुषाका वीरेन्द्र झा, सिरहाका लडा मियाँ, मोरङका पर्शुराम राई, रामेछापाका सन्तु तामाङ, धनुषाका रघुवीर साह, महोत्तरीका राजीवकुमार रावत, धनुषाका सरोजकुमार महतो र मकवानपुरका अजय लामा पनि पक्राउ परेका छन्।

त्यसैगरी झापाका केशव लिम्बू, बझाङका रामप्रसाद जोशी र बझाङकै विमलराज जोशीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरू काठमाडौंका विभिन्न स्थानमा बस्दै आएका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ।