काठमाडौं । पोखरा महानगरपालिका ले फेवाताल क्षेत्रको अतिक्रमण हटाउने अभियानअन्तर्गत टहरा भत्काउन सुरु गरेको छ। शनिबार बिहानदेखि महानगरले डोजर प्रयोग गरेर फेवाताल छेउछाउमा बनाइएका अस्थायी संरचना हटाउन थालेको हो।
महानगर प्रहरी प्रमुख पुरुसोत्तम थापा का अनुसार हालसम्म ३२ वटा टहरा डोजर लगाएर भत्काइएको छ। उनले नेपाल प्रहरी को सहयोगमा अतिक्रमण हटाउने कार्य सञ्चालन भइरहेको जानकारी दिए।
फेवाताल क्षेत्रलाई संरक्षण गर्ने उद्देश्यले महानगरले यो अभियान अघि बढाएको जनाइएको छ। यसअघि नवगठित संघीय सरकारले पनि फेवातालमा भएको अतिक्रमण हटाउने कार्य तीन महिनाभित्र सुरु गर्ने निर्णय गरेको थियो।
मन्त्रिपरिषद्ले शासकीय सुधारका लागि तय गरेको १०० कार्यसूचीभित्र फेवाताल अतिक्रमण हटाउने विषयलाई प्राथमिकताका साथ समेटेको थियो।
स्थानीय तह र संघीय सरकारको संयुक्त पहलमा सुरु गरिएको यस अभियानलाई वातावरण संरक्षण र सार्वजनिक सम्पत्तिको संरक्षणसँग जोडेर हेरिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया