भूपू सैनिक सम्मेलन: ३४ जिल्लामा आयोजना, हजारौँ पूर्वसैनिक पुनर्मिलनमा सहभागी हुने

139 Shares

काठमाडौँ। नेपाली सेनाले अवकाश प्राप्त करिब ९० हजार सैनिकहरूबीच पुनर्मिलन गराउने उद्देश्यले २०७० सालदेखि भूपू सैनिक सम्मेलन कार्यक्रम सञ्चालन गर्दै आएको छ।

‘एक पटकको सिपाही, जीवनभर सिपाही’ भन्ने भावनासहित सैनिक कल्याणकारी कोषमार्फत पूर्वसैनिक तथा तिनका आश्रित परिवारको शिक्षा र स्वास्थ्यमा सहयोग प्रदान हुँदै आएको छ। हरेक प्रधान सेनापतिको कार्यकालमा एकपटक आयोजना हुने यो सम्मेलनलाई तीन चरणमा विभाजन गरी देशभर क्रमशः सञ्चालन गरिँदै आएको छ।

यस वर्षको सम्मेलनको मूल नाराका रूपमा ‘पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन’ लाई लिइएको छ। सम्मेलनले पूर्वसैनिकबीच आपसी भेटघाट, अनुभव आदानप्रदान तथा बहालवाला र अवकाश प्राप्त सैनिकबीच सम्बन्ध सुदृढ गर्ने लक्ष्य राखेको छ।

सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार सम्मेलनमार्फत सैनिक कल्याणकारी कार्यक्रमहरूको जानकारी गराउने, सुझाव संकलन गर्ने र सेवाहरूलाई अझ प्रभावकारी बनाउने प्रयास गरिँदै आएको छ। यसले पूर्वसैनिकहरूको योगदानको सम्मानसमेत गर्ने विश्वास लिइएको छ।

यस वर्षको सम्मेलनमा लुम्बिनी, गण्डकी, मधेश र बागमती प्रदेशका करिब ३३ हजार जनाको सहभागिता रहने अनुमान गरिएको छ। कार्यक्रम चैत २२ गतेदेखि वैशाख ४ गतेसम्म चार चरणमा सञ्चालन हुनेछ।

सम्मेलन रूपन्देही, दाङ, प्युठान, रोल्पा, रुकुम, सल्यान, कपिलवस्तु, कास्की, गोरखा, तनहुँ, सिन्धुली, धनुषा, सिराहा, सप्तरीलगायत कूल ३४ जिल्लामा आयोजना गरिनेछ।

भूपू सैनिक सम्मेलनले पूर्वसैनिक तथा तिनका परिवारबीच आत्मीयता बढाउनुका साथै शिक्षा, स्वास्थ्य, रोजगारी र आवासजस्ता क्षेत्रमा सहयोग पुर्‍याउँदै जीवनस्तर सुधार गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको नेपाली सेनाको विश्वास छ।