सप्तरीमा १४ वर्षीय बालकको शंकास्पद मृत्यु: स्कुल सञ्चालकसहित दुई जना पक्राउ

186 Shares

सप्तरीको खडक नगरपालिका–७ स्थित फुलेश्वर पब्लिक इङ्ग्लिस बोर्डिङ स्कुल को होस्टलमा १४ वर्षीय बालकको शंकास्पद मृत्यु प्रकरणमा स्कुल सञ्चालकसहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धीरेन्द्रप्रसाद चौधरी र भोला मण्डल रहेका छन्। उनीहरूमाथि आत्महत्या दुरुत्साहन कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

७ वर्षदेखि होस्टलमा बस्दै आएका धर्मेन्द्रकुमार साह ७ चैत बिहान झुन्डिएको अवस्थामा मृत फेला परेका थिए। घटनापछि स्कुल पक्षले बालकलाई अस्पताल पुर्‍याएर मात्रै परिवार र प्रहरीलाई खबर गरेको खुलेको छ।

बालककी आमा ममता साह ले छोरामाथि कुटपिट भएको, घटना ढिलो जानकारी गराइएको र सीसीटीभी बन्द राखिएको भन्दै घटनालाई शंकास्पद बताएकी छन्।

यद्यपि, आरोप लागेकी सञ्चालककी श्रीमती शोभालाई हालसम्म प्रहरीले नियन्त्रणमा लिएको छैन र घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।