काठमाडौं । नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा करिब २१ वटा निर्वाचन क्षेत्रमा पार्टीभित्रकै अन्तर्घातका कारण पराजय भोगेको निष्कर्ष निकालेको छ ।
पार्टी केन्द्रीय कार्यसमिति बैठकले यस्तो निष्कर्ष निकालेको हो । पार्टीका प्रवक्ता देवराज चालिसेले ५ देखि ३ हजारभन्दा कम मतान्तरले हारिएका क्षेत्रमा मुख्यतः आन्तरिक कारण जिम्मेवार देखिएको जानकारी दिएका छन् ।
उनका अनुसार ३ हजारदेखि ५ हजारसम्मको मतान्तरमा हार भएका क्षेत्रमा आन्तरिक मतभिन्नतासँगै निर्वाचन अभियानमा कमजोरी देखिएको छ । त्यस्तै, ५ हजारदेखि १० हजारसम्मको ठूलो मतान्तरमा पराजित भएका क्षेत्रमा अन्तर्घात, कमजोर चुनावी क्याम्पेन र प्रतिकूल ‘न्यारेटिभ’ मुख्य कारण बनेका छन् ।
केही क्षेत्रमा संगठनात्मक कमजोरीसँगै मतदाताको कांग्रेसप्रति विश्वास घटेको पनि देखिएको प्रवक्ता चालिसेले बताए ।
उनले ८ लाख ५० हजारभन्दा बढी क्रियाशील सदस्य भए पनि अपेक्षित मत प्राप्त गर्न नसक्नु गम्भीर प्रश्न बनेको उल्लेख गरे । ९औँ महाधिवेशनमा करिब १ लाख सदस्य रहेको कांग्रेसमा १४औँ महाधिवेशनसम्म आइपुग्दा सदस्य संख्या ८ लाख ७० हजार पुगे पनि मत भने अपेक्षाअनुसार बढ्न नसकेको उनको भनाइ छ ।
प्रवक्ता चालिसेले हाल जारी केन्द्रीय समिति बैठकमा निर्वाचन समीक्षा र सभापतिको राजीनामा सम्बन्धी विषयमा केन्द्रित भएर छलफल भइरहेको जानकारी दिए । बैठकले पार्टीलाई पुनः सशक्त बनाउँदै जनतामाझ लैजाने कार्यदिशा तय गर्ने उनले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया