सुनकोशी–मरिण ठेक्का रद्ध प्रकरणमा सरकारले आर्थिक चलखेल गर्न खोजेको काँग्रेसको आशंका

10 Shares

काठमाडौं । नेपाली काँग्रेसले सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्ध गरिएको घटनामा सरकारले वित्तीय अनुशासन उल्लङ्घन गरेको आंशका व्यक्त गरेको छ ।

पार्टी मुख्यालय सानेपामा सम्पन्न केन्द्रिय समिति बैठकले यस्तो निष्कर्ष निकालेको पार्टीका सहमहामन्त्री अजयबाबु शिवाकोटीले बताउनुभयो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकारले आर्थिक स्वार्थका आधारमा सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्द गरेको आशंका व्यक्त गर्नुभयो ।

उहाँले पासपोर्ट छपाई प्रकरण र सुनकोशी–मरिण ठेक्का रद्द प्रकरणका घटनामा अनियमितताको फण्डाफोर गर्ने निर्णय गरिएको बताउनुभयो । उहाँले सरकार सत्तानिकट व्यक्तिहरूलाई संरक्षण गर्ने र फरक मत राख्नेहरूमाथि फरक ढङ्गले कानून लागू गर्ने प्रवृत्तिमा लागेको आरोप समेत लगाउनुभयो । उहाँले प्रधानमन्त्री बालेन्द्र साहका प्रमुख सल्लाहकार कुमार बेनसहित सरकारनिकट व्यक्तिहरूमाथि उठेका प्रश्नमा निष्पक्ष अनुसन्धान हुनुपर्नेमा पार्टीले जोड दिएको पनि बताउनुभयो ।

उहाँले सरकारको कार्यशैलीलाई शासकीय अराजकताको संज्ञा दिँदै त्यसविरुद्ध प्रतिपक्षको भुमिका थप सशक्त बनाउने निर्णय पनि बैठकले गरेको पनि बताउनुभयो । उहाँले खस्कँदो अर्थतन्त्र, जनजीविकामा बढ्दो संकट र निजी क्षेत्रमा देखिएको त्रासप्रति पनि कांग्रेसले चिन्ता व्यक्त बताउनुभयो । उहाँले सरकारले घोषणा गरेका कार्याक्रमहरु कार्यान्वयनमा उदासिनता देखिएको भन्दै सरकारको ध्यानाकर्षण गर्ने समेत बैठकले निर्णय गरेको बताउनुभयो ।

उहाँकाअनुसार पार्टीले आउने प्रदेश तथा स्थानीय तहको निर्वाचनको तयारीका लागि देशभरका पालिकामा केन्द्रिय प्रतिनिधि खटाउने भएको छ ।

उहाँले भन्नुभयो, ‘सरकारले राहदानी प्रकरणमा जुन किसिमले डिसमिस गराउन खोज्यो यसमा समेत सरकारको कथनी र करनीमा तादात्म्यता मिलेको छैन । यस विषयमा पनि हामीले पोजिसन लिएका छौँ । जसरी पासपोर्टमा सरकारले जसरी आर्थिक चलखेल गर्न खोजेको थियो त्यसैगरी आज सुनकोशी–मरिन डाइभर्सनमा पनि अनियमितताको इन्ट्रेस्ट हामीले फेला पारेका छौँ । त्यसकारण यो कुराको भण्डाफोर गर्ने भन्ने छ । सरकराले खासगरी सत्ता निकटहरूलाई एउटा कानुन वा कानूनै नलाग्ने तर सत्ताभन्दा बाहिर रहेका उसको फरक मत राख्नेहरूलाई एउटा खालको कानुन लगाउने नियतबाट सरकार अगाडि बढिरहेको छ । यस्तो सेलेक्टिभ एप्रोचबाट सरकारले आफूले हिजो भनेका कुराहरूलाई नै खण्डित गरिरहेको छ । यो विषयमा पनि काँग्रेस बोलेको छ ।’

बैठकका निर्णयहरु शनिवार सार्वजनिक गरिने समेत सहमहामन्त्री शिवाकोटीले बताउनुभयो ।