देशभर हावाहुरी, असिना पानीसहित भारी वर्षा: जनजीवन प्रभावित

195 Shares

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर शुक्रबार हावाहुरी, चट्याङ र असिना पानीसहित भारी वर्षा भएको छ।

जल तथा मौसम विज्ञान विभाग का अनुसार पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले देशका विभिन्न भागमा मौसम अस्थिर बनेको हो।

शुक्रबार अपराह्न उपत्यकासहित चितवन, पोखरा, बुटवल, अर्घाखाँची, दाङ, ओखलढुंगा र धनकुटा लगायत क्षेत्रमा असिना पानी परेको थियो।

अचानक आएको हावाहुरीका कारण दिउँसै अँध्यारो जस्तो वातावरण बनेको र जनजीवन अस्तव्यस्त भएको जनाइएको छ।

मौसम विभागले यसअघि नै दुई दिनदेखि देशका विभिन्न भागमा तीव्र हावाहुरी र असिना पानी पर्ने चेतावनी दिँदै सतर्कता अपनाउन आग्रह गरेको थियो।

वर्षाका कारण लामो समयदेखि बढेको वायु प्रदूषण केही कम भएको र खेतीबालीलाई राहत पुगेको बताइएको छ।

यसैबीच हावाहुरीका कारण आन्तरिक उडानहरू प्रभावित भएका छन् भने अन्तर्राष्ट्रिय उडानहरू समेत भारत र बंगलादेश तर्फ डाइभर्ट गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ले जनाएको छ।