काठमाडौं । नेपाली कांग्रेस ले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा पराजय हुनुका कारणहरूमध्ये गठबन्धन सरकारलाई पनि दोषी ठहर गरेको छ।
पार्टी उपसभापति विश्वप्रकाश शर्मा ले केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गरेको चुनावी समीक्षा प्रतिवेदनमा सरकारको कार्यसम्पादन कमजोर हुँदा जनतामा अपेक्षा पूरा हुन नसकेको उल्लेख गरेका छन्।
प्रतिवेदनमा भनिएको छ, “दुई ठूला दल मिलेर सरकार बनेपछि तीव्र अपेक्षा थियो, तर सरकारको प्रस्तुति औसत रह्यो। यसले नयाँ विश्वास र आशा जगाउन सकेन।”
उनले नेकपा एमाले सँगको ७ बुँदे सहमतिअनुसार काम गर्न नसक्नु पनि पराजयको प्रमुख कारण रहेको बताए। संविधान संशोधनका लागि कार्यदल गठन हुन नसक्नु, संघीयताअनुसार प्रदेशलाई अधिकार हस्तान्तरणमा ढिलाइ हुनु, शिक्षा र निजामतीसम्बन्धी विधेयक टुंगोमा नपुग्नुजस्ता विषयले जनअसन्तुष्टि बढाएको प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै, बजेट निर्माण प्रक्रियामा देखिएको विवाद र संसदभित्रै असन्तुष्टि चर्किनुले पनि जनतामा नकारात्मक सन्देश गएको बताइएको छ।
शर्माले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयलाई समेत गलत ठहर गर्दै यस्तो निर्णयले “जेनजी विद्रोह” का लागि वातावरण तयार गरेको र अन्ततः चुनावी पराजयमा योगदान पुर्याएको उल्लेख गरेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया