२४ घण्टामा विपद्का घटनामा ४ को मृत्यु, साढे २ करोडभन्दा बढी क्षति

70 Shares

काठमाडाैं । नेपालभर पछिल्लो २४ घण्टामा विभिन्न प्राकृतिक तथा गैर–प्राकृतिक विपद्का घटनामा परी ४ जनाले ज्यान गुमाएका छन् भने साढे २ करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चैत २ गते बिहान १० बजेदेखि चैत ३ गते बिहान १० बजेसम्म देशका ४३ जिल्लामा ७३ वटा विपद्का घटना रेकर्ड भएका छन्।

यी घटनामा परी ४ जनाको मृत्यु र १४ जना घाइते भएका छन्। मृत्यु हुनेमध्ये हावाहुरीबाट २ जना, सर्पदंशबाट १ जना र चट्याङ लागेर १ जना रहेका छन्। सबैभन्दा बढी हावाहुरीका ४६ र आगलागीका १२ वटा घटना भएका छन्। विपद्का कारण २ करोड ४१ लाख ६ हजार ९ सय रुपैयाँ बराबरको क्षति भएको छ भने २७ वटा चौपायाको पनि क्षति भएको छ। उद्धार तथा व्यवस्थापनका लागि ३४९ जना प्रहरी परिचालन गरिएको थियो।

यस वर्षको समग्र अवस्था
प्राधिकरणका अनुसार २०८२ वैशाख १ देखि चैत ३ सम्म देशभर ६ हजार ९ सय ५१ वटा विपद्का घटना भइसकेका छन्। ती घटनामा ४७५ जनाको मृत्यु, ३८ जना बेपत्ता र १ हजार ८ सय ४६ जना घाइते भएका छन्। साथै १२ हजार ६ सय ५० परिवार प्रत्यक्ष प्रभावित भएका छन्।

मानवीय क्षतितर्फ आगलागीबाट सबैभन्दा बढी १०० जनाको मृत्यु भएको छ। त्यसपछि सर्पदंशबाट ९८, पहिरोबाट ७४, जनावरको आक्रमणबाट ५४ र चट्याङबाट ४७ जनाको ज्यान गएको तथ्यांकमा उल्लेख छ।

मौसम र तापक्रम
पछिल्लो २४ घण्टामा देशका ३३४ वर्षा मापन केन्द्रमध्ये १२३ केन्द्रमा वर्षा रेकर्ड भएको छ। सबैभन्दा बढी वर्षा मुलघाट (धनकुटा) मा ३५.० मिलिमिटर मापन गरिएको छ।

तापक्रमतर्फ सबैभन्दा बढी गर्मी भैरहवामा ३४.५ डिग्री सेल्सियस पुगेको छ भने सबैभन्दा चिसो हुम्दे (मनाङ) मा माइनस ८.५ डिग्री सेल्सियस मापन गरिएको छ।