काठमाडाैं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मंगलबार बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ। कोशी र बागमती प्रदेशको हिमाली भू–भागमा आंशिक बादल लागेको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ।
त्यस्तै, मंगलबार दिउँसो लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश तथा बाँकी पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने सम्भावना छ। गण्डकी, कर्णाली, सुदूरपश्चिम, कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली भू–भागका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ। साथै तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मंगलबार राति देशको हिमाली भू–भागमा सामान्यतया बादल रहनेछ भने बाँकी पहाडी र तराई भू–भागमा आंशिक बदली रहने सम्भावना छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
यसैगरी कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया