कृत्रिम अभाव सृजना गरेको आरोपमा श्रीराम ग्यास उद्योगलाई तीन लाख जरिवाना

187 Shares

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले श्रीराम ग्यास उद्योगको हरिसिद्धि, ललितपुरस्थित गोदाममा भण्डारण गरिराखिएको अवस्थामा ६ हजार ३७७ वटा ग्यास सिलिन्डर फेला पारेको छ।

ग्यासको कृत्रिम अभाव सृजना गर्ने उद्देश्यले भण्डारण गरिएको अवस्थामा विभागको अनुगमन टोलीले १४.२ किलो तौल भरिएका सिलिन्डरहरू फेला पारेको जनाएको छ।

विभागले सो उद्योगलाई तीन लाख रुपैयाँ जरिवाना गरेको छ। साथै ती ग्यास सिलिन्डर नेपाल आयल निगमको समन्वय र रोहबरमा बिक्री–वितरणको व्यवस्था मिलाउन निर्देशन दिइएको विभागले जनाएको छ।

ग्यासको माग उच्च रहेको अवस्थामा आपूर्तिमा असर पर्ने गरी कृत्रिम अभाव सृजना नगर्न र वितरण प्रणाली सहज बनाउन विभागले आग्रह गरेको छ।

नेपाल आयल निगमका अनुसार पश्चिम एसियामा बढ्दो तनावका कारण ग्यास आपूर्ति प्रभावित हुने आशङ्काले उपभोक्ताले बढी भण्डारण गर्दा वितरण प्रणालीमा समस्या देखिएको छ।