इनिशा विक हत्या प्रकरणमा शीघ्र छानबिन र दोषीलाई कारबाही गर्न परिवारको माग

164 Shares

काठमाडौं । १६ वर्षीया इनिशा विक हत्या प्रकरणको शीघ्र छानबिन गरी संलग्न दोषीलाई कानुनबमोजिम कारबाही गर्न पीडित परिवारले माग गरेको छ।

पीडित परिवारका तर्फबाट इनिशाका दाइ चन्द्रबहादुर विक र तपेन्द्र विकले आज गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरेका हुन्।

उनीहरूले महिला तथा बालबालिकामाथि हुने यौन हिंसा तथा जघन्य अपराधका घटना दोहोरिन नदिन र न्यायको सुनिश्चिततासहित सुरक्षित समाज निर्माणका लागि सम्बन्धित निकाय, नागरिक समाज, पत्रकार तथा सम्पूर्ण सरोकारवालाले गम्भीर ध्यान दिनुपर्ने बताएका छन्।

ज्ञापन–पत्र ग्रहण गर्दै गृहमन्त्री अर्यालले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याइने बताएका छन्। मुलुकमा दण्डहीनताको अन्त्य हुनुपर्ने उल्लेख गर्दै उनले कुनै पनि प्रकारका आपराधिक घटना तथा अवाञ्छित गतिविधि नियन्त्रण गरी शान्ति सुव्यवस्था कायम गर्न सरकार जिम्मेवारीका साथ लागिरहेको बताए।

गत फागुन २३ गते वीरेन्द्रनगर–४ सहिदपार्क नजिकै रहेको जनजागरण सामुदायिक वनमा बलात्कारपछि १६ वर्षीया इनिशा विकको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो।