काठमाडौं ।
हिजो परेको वर्षा र हावाहुरीका कारण काठमाडौं उपत्यकाको वायु प्रदूषण अघिल्ला दिनहरूको तुलनामा केही घटेको छ।
विश्वभरको वायु गुणस्तर रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान साढे ६ बजे काठमाडौं उपत्यकाको वायु गुणस्तर सूचकांक (एक्यूआई) ८६ पुगेको छ। बिहानै एक समय एक्यूआई ३४ सम्म मापन गरिएको थियो, जुन स्वास्थ्यका दृष्टिले राम्रो मानिन्छ।
यसअघि फागुन २६ गते उपत्यकामा एक्यूआई २०६ पुगेको थियो। हिजो पनि एक्यूआई १५० भन्दा माथि पुगेको थियो, जसलाई वायुको गुणस्तर अस्वस्थ स्तर मानिन्छ।
विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डअनुसार वायु गुणस्तर सूचकांक ५० सम्म भए राम्रो, ५१–१०० मध्यम, १०१–१५० संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ र ३०१ भन्दा माथि पुगेमा खतरनाक तह मानिन्छ।
हिजो काठमाडौं उपत्यकासहित मध्य तथा पूर्वी क्षेत्रका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएकाले आकाशमा जमेको धुलोका कण केही हदसम्म पखालिएका छन्। साथै हावाहुरीले पनि प्रदूषणका कणलाई उडाएर लैजाने भएकाले वायु गुणस्तरमा केही सुधार देखिएको हो।
यद्यपि दिउँसोतिर काठमाडौं उपत्यकाको वायु गुणस्तर फेरि केही खस्किन सक्ने पूर्वानुमान आईक्यू एयरले गरेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया