निर्वाचन सार्ने बहाना खोज्दै सरकार : रामबहादुर थापा

50 Shares

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापाले वर्तमान सरकार निर्वाचन सार्ने उद्देश्यले विभिन्न बहाना खोजिरहेको आरोप लगाउनुभएको छ।

बुधबार काठमाडौंमा पार्टीले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै उहाँले प्रधानमन्त्रीले नै हिमाली जिल्लामा सम्भावित हिमपातलाई कारण देखाउँदै निर्वाचन सार्न सकिने वा ती क्षेत्रमा दोस्रो चरणमा मतदान गर्न सकिने अभिव्यक्ति दिएको उल्लेख गर्नुभयो। यसले सरकार तोकिएको समयमा निर्वाचन नगराउने दिशामा अघि बढिरहेको संकेत गर्ने उहाँको दाबी छ।

उपाध्यक्ष थापाले निर्वाचन सार्ने प्रयास लोकतान्त्रिक प्रक्रिया विपरीत हुने बताउँदै वर्तमान सरकार अवैध र प्रायोजित ढंगबाट गठन भएको आरोप पनि लगाउनुभयो। “सरकार निर्वाचन सार्ने बहाना खोज्दैछ। प्रधानमन्त्रीले नै हिमाली जिल्लामा हिमपात भयो भने निर्वाचन सर्न सक्छ अथवा दोस्रो चरणमा गर्न सकिन्छ भन्नुभएको छ। यसले सरकार चुनाव नगराउने दिशामा अघि बढिरहेको देखाउँछ,” उहाँले भन्नुभयो।

उहाँले एमालेले पहिल्यै फागुनमा निर्वाचन गराउन कठिन हुने बताउँदै आएको स्मरण गराउँदै अहिले सरकारकै व्यवहारले निर्वाचनबारे अनिश्चितता बढाएको आरोप लगाउनुभयो।

थापाले सरकार मुलुकका प्रमुख राजनीतिक शक्तिहरूलाई कमजोर पार्दै अस्थिरता निम्त्याउने शक्तिहरूलाई स्थापित गर्न खोजिरहेको समेत दाबी गर्नुभयो।