सामान्य सुधारसँगै नेप्से २६९५ अंकमा बन्द

128 Shares

काठमाडौं : नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक सोमबार सामान्य सुधारसँगै बन्द भएको छ।

कारोबारको सुरुआतमा उकालो लागेको नेप्से २७०६ अंकसम्म पुगे पनि त्यसपछि उतारचढाव देखिएको थियो। अन्त्यमा भने परिसूचक १.५३ अंकले बढेर २६९५.७३ अंकमा पुगेर बन्द भयो।

कारोबार रकम भने आइतबारको तुलनामा घटेको छ। आइतबार ९ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएकोमा सोमबार घटेर ८ अर्ब २२ करोड रुपैयाँमा सीमित भयो।

सोमबार कारोबार भएका कम्पनीमध्ये ११४ कम्पनीको सेयर मूल्य बढ्यो, १३४ कम्पनीको घट्यो भने १३ कम्पनीको मूल्य स्थिर रह्यो।

समूहगत परिसूचकतर्फ होटल तथा पर्यटन समूह १.७७ प्रतिशतले बढेको छ भने विकास बैंक समूह ०.७७ प्रतिशतले उकालो लागेको छ। यता फाइनान्स उपसूचक ०.८९ प्रतिशतले घट्दा जीवन बीमा समूह ०.३५ प्रतिशतले ओरालो लागेको छ।

व्यक्तिगत कम्पनीतर्फ एसवाइ प्यानल, श्रीनगर एग्रिटेक र हिमस्टार ऊर्जाको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले घटेको छ।