पर्वत । पर्वतमा बाढीपहिरोका कारण ३०० भन्दा बढी परिवार विस्थापित भएका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लाभर पहिरोका कारण १७० घर पूर्ण रूपमा नष्ट भएका छन् भने १३१ घरमा आंशिक क्षति पुगेको छ।
सबैभन्दा बढी प्रभावित जलजला गाउँपालिकामा १७१ परिवार विस्थापित भएका छन्। त्यहाँ मात्रै ११३ घर पूर्ण रूपमा भत्किएका छन्। फलेवास, मोदी, बिहादी, कुश्मा र महाशिला गाउँपालिकामा पनि दर्जनौँ घरमा क्षति पुगेको प्रशासनले जनाएको छ।
बाढीपहिरोले बस्तीमा क्षति पुर्याउनुका साथै पाँचवटा विद्यालय, स्वास्थ्य चौकी, प्रहरी चौकी र पर्वत–बागलुङ जोड्ने झोलुङ्गे पुलमा समेत क्षति पुगेको छ। कालीगण्डकी लोकमार्गसहित प्रमुख ग्रामीण सडक अवरुद्ध हुँदा यातायात तथा आवतजावत प्रभावित बनेको छ।
विस्थापित परिवारका लागि स्थानीय प्रशासन, नेपाल रेडक्रस तथा विभिन्न संघसंस्थाले त्रिपाल, खाद्यान्न, ओढ्ने–ओछ्याउने सामग्री र स्वास्थ्य सामग्री वितरण गरिरहेका छन्। अवरुद्ध सडक सञ्चालनमा ल्याउन तथा राहत वितरणलाई थप प्रभावकारी बनाउन प्रयास भइरहेको प्रशासनले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया