अफगानिस्तानमा भारी हिमपात र वर्षा — ६१ जनाको मृत्यु, सयौँ घाइते

172 Shares

काठमाडौं । अफगानिस्तानमा पछिल्ला केही दिनदेखि परेको भारी हिमपात र वर्षाका कारण कम्तीमा ६१ जनाको ज्यान गएको छ। राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार प्राकृतिक विपत्तिमा परी ११० भन्दा बढी व्यक्ति घाइते भएका छन्।

आँधीबेहरी र अत्यधिक हिमपातका कारण देशभर ४५८ घर पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहे पनि खराब मौसमका कारण काममा कठिनाइ भइरहेको जनाइएको छ।

विगत तीन दिनयता अफगानिस्तानका अधिकांश भागले अत्यधिक चिसो र बाक्लो हिमपातको सामना गरिरहेका छन्। प्रतिकूल मौसमका कारण राजधानी काबुललाई विभिन्न प्रान्तसँग जोड्ने मुख्य राजमार्ग तथा सडक सञ्जाल अवरुद्ध भएका छन्, जसले यातायात र आपूर्ति प्रणाली प्रभावित बनेको छ।

सरकारी निकायले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गर्दै प्रभावित परिवारका लागि आपत्कालीन सहायता उपलब्ध गराउने प्रयास भइरहेको बताएका छन्।