काठमाडौं । बागलुङको जैमिनी नगरपालिका–२ दमेकमा चितुवा र दुम्सीको आतङ्क बढेको छ। पछिल्लो नौ महिनामा चितुवाले पाँच किसानका १२ वटा बोका, बाख्रा तथा पाठा मारेको छ। दुम्सीले खेतीबाली नष्ट गर्न थालेपछि स्थानीय किसान थप समस्यामा परेका छन्।
दमेकको गौडा, भैँसेखर्क र टापुका करिब २५ घरपरिवार खेतीपाती र पशुपालनमा निर्भर छन्। तर चितुवाले पशुचौपायामाथि आक्रमण गर्न थालेपछि किसानलाई बाख्रा पाल्न र खर्कमा चराउन समस्या भएको छ।
चितुवाले स्थानीय किसान गङ्गाधर सापकोटाका दुई बोका र एक पाठी, रत्न परियारका तीन बोका तथा बाख्रा, नारायण सापकोटाका दुई, मेहन्द्र हमालका दुई र गङ्गाबहादुर ठकुरीका दुई बाख्रा तथा पाठा मारेको छ।
आठ वर्षदेखि पशुपालन व्यवसाय गर्दै आएका गङ्गाधर सापकोटाले सुरुमा २० वटा गाई र २७ वटा बाख्रा पालेका थिए। तर चितुवाको आक्रमण बढेपछि उनले बाख्राको सङ्ख्या घटाउँदै लगेका छन्।
सापकोटाका अनुसार चितुवाले खर्कमै पुगेर बाख्रामाथि आक्रमण गर्ने गरेको छ। त्यसैले किसानले पशु चराउन खर्कमा लैजानसमेत डराउनुपर्ने अवस्था आएको छ।
उनले गौडा, भैँसेखर्क र टापुमा स्थानीयवासी बसोबास गरिरहेको भए पनि आसपासका धोद्रे, चिरपानी, खाल्टा, बात्थला र चौडिलालगायत गाउँ रित्तिँदै गएको बताए। ती गाउँका खेतबारी बाँझो भएपछि झाडी बढेको र चितुवा तथा दुम्सी गाउँ पस्न थालेको उनको भनाइ छ।
किसानले बाँदरलाई बारीमा पुगेर धपाउन सक्ने भए पनि चितुवा र दुम्सी नियन्त्रण गर्न नसकेको सापकोटाले बताए।
त्यस्तै, अर्का किसान रत्न परियारले चितुवाले खर्कमा चर्दै गरेका बाख्रा आक्रमण गर्ने र दुम्सीले खेतीबाली नष्ट गर्ने गरेको गुनासो गरे। उनले चितुवा लखेट्न सहयोग पुग्ने कुकुर उपलब्ध गराइदिन जैमिनी नगरपालिकासँग माग गरेका छन्।
जैमिनी नगरपालिकामा बसाइँसराइ बढ्दै जाँदा बाँझो जग्गा र झाडी विस्तार भएको छ। यसले बाँदर, चितुवा र दुम्सीजस्ता वन्यजन्तुका कारण गाउँमा बसिरहेका किसानलाई थप समस्या भएको छ।
जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश पाण्डेका अनुसार नगरपालिकाबाट बसाइँसराइ गरेर जानेको सङ्ख्या बढी छ। गाउँका बस्ती रित्तिँदै जाँदा बाँझो जग्गा बढेको छ।
वन्यजन्तुको आक्रमण र खेतीबालीमा हुने क्षतिका कारण पशुपालन तथा कृषि पेसामा निर्भर स्थानीय किसान समस्यामा परेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया