एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तत्काल सम्झौता गर्न आग्रह गर्दै अन्यथा गम्भीर नतिजा भोग्न तयार रहन चेतावनी दिनुभएको छ ।
राष्ट्रपति ट्रम्पले आइतबार आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत क्युबातर्फ जाने तेल र पैसाको प्रवाह अब रोक्ने चेतावनी दिनुभएको हो । यही जनवरी ३ तारिखमा अमेरिकी सेनाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उहाँकी श्रीमतीलाई राजधानी काराकसबाट एक कारबाहीका क्रममा नियन्त्रणमा लिएपछि ट्रम्प प्रशासनको ध्यान क्युबातर्फ केन्द्रित भएको बताइएको छ ।
क्युबाको लामो समयदेखिको मित्रराष्ट्र मानिने भेनेजुएलाले टापु राष्ट्र क्युबालाई दैनिक करिब ३५ हजार ब्यारेल तेल पठाउँदै आएको विश्वास गरिन्छ । तर ट्रम्प प्रशासनले प्रतिबन्धित भेनेजुएलाली तेल बोकेका ट्याङ्करहरू जफत गर्ने रणनीति अपनाएपछि क्युबामा इन्धन र विद्युत् संकट गहिरिँदै गएको छ । गत शुक्रबार मात्रै अमेरिकाले भेनेजुएलाबाट प्रतिबन्धित तेल बोकेको आरोपमा पाँचौँ तेल ट्याङ्कर नियन्त्रणमा लिएको थियो ।
राष्ट्रपति ट्रम्पका अनुसार क्युबा लामो समयदेखि भेनेजुएलाबाट प्राप्त ठूलो परिमाणको तेल र आर्थिक सहयोगमा निर्भर रहँदै आएको छ । यसको बदलामा क्युबाले भेनेजुएलाका पछिल्ला दुई ‘तानाशाह’लाई सुरक्षा सेवा प्रदान गर्दै आएको उहाँको आरोप छ । तर अब त्यस्तो अवस्था अन्त्य हुने भन्दै क्युबातर्फ जाने तेल र पैसा पूर्ण रूपमा बन्द गरिने चेतावनी दिनुभएको छ । साथै उहाँले क्युबाली नेतृत्वलाई सम्झौताका लागि कडा सन्देश समेत दिनुभएको छ ।
यद्यपि, राष्ट्रपति ट्रम्पले कस्तो खालको सम्झौता गर्ने वा क्युबाले कस्तो नतिजा भोग्नुपर्ने भन्ने विषयमा भने स्पष्ट खुलासा गर्नुभएको छैन । उता क्युबाका विदेशमन्त्री ब्रुनो रड्रिग्वेजले ट्रम्पको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसको प्रतिवाद गर्नुभएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया