इरानमा विरोध प्रदर्शन १२औँ दिनमा, मृत्यु हुनेको संख्या ३५ पुग्यो

162 Shares

काठमाडौं। इरानमा जारी विरोध प्रदर्शन १२औँ दिनमा प्रवेश गरेको छ। बीबीसीका अनुसार, विरोध प्रदर्शन मत्थर हुनेको साटो अझ चर्किंदै गएको छ।

मानवअधिकारवादी एजेन्सी HRNA का तथ्यांक अनुसार देशभरका प्रदर्शनमा हालसम्म दुई सुरक्षाकर्मीसहित कम्तीमा ३५ जनाको मृत्यु भएको छ। मृतकमध्ये चार बालबालिका पनि छन्। प्रदर्शन २८ डिसेम्बरदेखि सुरु भई देशका ३१ प्रान्त र १११ शहरमा फैलिसकेको छ। पछिल्ला ११ दिनमा ६० भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् भने करिब २ हजार २०० जनालाई पक्राउ गरिएको छ।

बीबीसी फ्याक्ट फाइन्डिङ युनिटले मृत्यु हुनेमध्ये बालबालिकासहित २१ जनाको पहिचान स्वतन्त्र रूपमा पुष्टि गर्न सफल भएको बताएको छ।

त्यसैबीच, तेहरानको एक सडकको नाम अज्ञात प्रदर्शनकारीले ‘ट्रम्प स्ट्रिट’ राखेको विषयमा अमेरिकी विदेश मन्त्रालयले प्रतिक्रिया दिएको छ। अमेरिकी विदेश मन्त्रालयको फारसी अकाउन्टमा भनिएको छ, “तेहरानमा एक व्यक्तिद्वारा राष्ट्रपति ट्रम्पको नाममा सडकको नाम राखिने कदमको हामी प्रशंसा गर्दछौं। अमेरिका इरानी जनताको आवाज र आकाङ्क्षालाई सम्मान गर्दछ र उनीहरूको स्वतन्त्रता, समृद्धि र अवसरका लागि प्रयासको समर्थनमा प्रतिबद्ध छ।”

तर, इरानले अमेरिकाको यस समर्थनको कडा आलोचना गरेको छ।