राज्यको निरङ्कुशता र जंगलीतन्त्रविरुद्धको लडाइँ जारी रहन्छः किशोर श्रेष्ठ

10 Shares

काठमाडौं । पत्रकार किशोर श्रेष्ठले सरकारले विरोधीको आवाज थुन्ने नियतले आफूमाथि प्रतिशोध साँधेको आरोप लगाएका छन् ।

सोमवार राती प्रहरी हिरासतबाट निस्किएपछि सञ्चाकर्मीसँगको कुराकानीमा उनले जनआस्थामा प्रकाशित समाचार गलत भए राज्यले कानुनी प्रक्रियामार्फत त्यसको खण्डन गर्न कानुनी व्यवस्था हुँदाहुँदै सरकार स्वयंले आफूमाथि पात्र खडा गरी प्रतिशोध साँधेको आरोप लगाए ।

सरकारले जनआस्थाविरुद्ध विभिन्न व्यक्तिलाई प्रयोग गर्ने र मुद्दा थप्दै गएर आफ्नो आवाज बन्द खेल खेलिरहेको बताउँदै उनले सर्वोच्च अदालतको परमादेशले सञ्चारमाध्यममाथि सरकार थप आक्रात्मक हुने प्रयासमा रोक लगाएको पनि बताए । राज्यको निरङ्कुशता र जंगलीतन्त्रविरुद्धको लडाइँ जारी रहेको उनको भनाई छ ।

उनले भने, ‘यो पेसागत धर्म निर्वाह गर्दा राज्यले लिएको बदलाको कारबाही हो । यो सरकार गठन भएदेखि कहिले मिडिया, कहिले ट्रेड युनियन, कहिले अदालतलाई गिजोल्दै, गिजोल्दै आयो । जनआस्थाले लेखेको न्युजहरू गलत छन् भने राज्यले त्यसको खण्डन गरे हुन्छ । त्यसको लागि प्रेस काउन्सिल नेपाल, अदालत छन् ।’

पत्रकार श्रेष्ठले आफ्नो गिरफ्तारी पेसागत धर्म निर्वाह गर्दा राज्यले लिएको बदलाको कारबाही भएको टिप्पणी पनि गरे ।