अमेरिकी आक्रमणमा भेनेजुएलामा १ सय जनाको मृत्यु भएको पुष्टि

142 Shares

काठमाडौं। अमेरिकाले गत शनिबार भेनेजुएलामा गरेको सैन्य आक्रमणमा मृत्यु हुनेको संख्या १ सय पुगेको खुलासा भएको छ।

आक्रमण भएको छ दिनपछि भेनेजुएलाका गृहमन्त्री डियोसदादो क्याबेलोले अमेरिकी आक्रमणका कारण कम्तीमा १ सय जनाको मृत्यु भएको जानकारी दिनुभएको हो। प्रारम्भिक विवरणमा ४० जनाको मृत्यु भएको भनिए पनि पछिल्लो तथ्यांकमा मृतक संख्या उल्लेख्य रूपमा बढेको हो।

गृहमन्त्री क्याबेलोका अनुसार आक्रमणमा ज्यान गुमाउनेमध्ये अधिकांश राष्ट्रपति निकोलस मदुरोको सुरक्षामा खटिएका सैनिक र गुप्तचर अधिकारीहरू रहेका छन्। यसअघि क्युवाले पनि राष्ट्रपति मदुरोको सुरक्षामा खटिएका आफ्ना ३२ जना सैनिक मारिएको पुष्टि गरेको थियो।

अमेरिकाले शनिबार राति १५० वटाभन्दा बढी लडाकु विमान प्रयोग गरी भेनेजुएलाको राजधानी काराकासमा आक्रमण गरेको थियो। आक्रमणका क्रममा राष्ट्रपति मदुरोलाई नियन्त्रणमा लिएर अमेरिका लगिएको बताइएको छ। अमेरिकी सेनाले राष्ट्रपति मदुरोको निवासमा हेलिकप्टरमार्फत अवतरण गर्नुका साथै भेनेजुएलाका प्रमुख सैनिक अड्डाहरूमा बमबारी गरेको थियो।

अमेरिकाले भने उक्त आक्रमणका क्रममा आफ्नो एक लडाकु विमानमा सामान्य क्षति पुगेको भए पनि विमान सञ्चालनयोग्य अवस्थामा रहेको दाबी गरेको छ।