अमेरिकाले नेपाललाई ‘भिसा बन्ड’ सूचीमा राख्यो : धरौटीसहित बी-१/बी-२ भिसा अनिवार्य

152 Shares

काठमाडौं । अमेरिकाले भिसा नियम कडा गर्दै नेपाललाई पनि ‘भिसा बन्ड’ राख्नुपर्ने देशहरूको सूचीमा समावेश गरेको छ। अमेरिकी विदेश मन्त्रालयले जनवरी २१ देखि लागू हुने गरी नेपाल यस सूचीमा परेको जानकारी दिएको छ।

अब नेपाली नागरिकहरूले अमेरिकाको बी-१/बी-२ (पर्यटक वा व्यवसायिक) भिसा आवेदन गर्दा धरौटी दिनुपर्नेछ। भिसा अन्तर्वार्ताका क्रममा कन्सुलर अफिसरले आवेदकको अवस्था अनुसार धरौटी रकम तय गर्नेछन्। न्यूनतम धरौटी ५ हजार अमेरिकी डलर र अधिकतम १५ हजार अमेरिकी डलर हुनेछ। यो रकम अमेरिकी सरकारको आधिकारिक पोर्टल pay.gov मार्फतै जम्मा गर्नुपर्नेछ। कुनै पनि तेस्रो पक्ष वा एजेन्टलाई रकम बुझाउने अनुमति छैन।

भिसा बन्डका लागि तोकिएका विमानस्थल
धरौटी राखेर अमेरिका जाने नेपालीहरूले अब केवल तीन विमानस्थलबाट प्रवेश र बहिर्गमन गर्न सक्नेछन्—

  • जोन एफ. केनेडी अन्तर्राष्ट्रिय विमानस्थल, न्यूयोर्क

  • वासिङ्टन डलेस अन्तर्राष्ट्रिय विमानस्थल, वासिङ्टन डीसी

  • बोस्टन लोगन अन्तर्राष्ट्रिय विमानस्थल

यी बाहेक अन्य विमानस्थल प्रयोग गरेमा धरौटी जफत हुन सक्छ र भविष्यमा प्रवेशमा रोक लाग्न सक्छ।

धरौटी फिर्ता हुने प्रक्रिया
धरौटी रकम पूर्ण रूपमा फिर्ता हुने भए पनि आवेदकले केहि शर्तहरू पूरा गर्नुपर्नेछ।

  • तोकिएको समयमा अमेरिका छोड्ने

  • भिसाको शर्त उल्लंघन नगर्ने

  • तोकिएका तीन विमानस्थलबाट मात्र बाहिरिने

यदि भिसाको म्याद नाघाएमा वा अमेरिका पुगेर शरण (असाइलम) मागेमा धरौटी रकम जफत हुनेछ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार यो नियम त्यस्ता देशका नागरिकहरूलाई लक्षित गरी ल्याइएको हो जसले अमेरिका पुगेपछि समयमै फर्कदैनन्। नेपालसँगै बंगलादेश, भुटान, नाइजेरिया, भेनेजुएला लगायत ३८ देशहरू यस सूचीमा रहेका छन्।