एजेन्सी । अमेरिकाको नियन्त्रणमा रहनुभएका भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोले आफूमाथि लगाइएका सबै आपराधिक आरोपहरू अस्वीकार गर्नुभएको छ।
न्युयोर्कस्थित म्यानहटनको संघीय अदालतमा उपस्थित गराइएका मदुरोले आफू ‘निर्दोष’ रहेको बयान दिनुभएको हो। मदुरोविरुद्ध लागूऔषध आतंकवाद (नार्को–टेररिज्म) को षड्यन्त्र, मेसिनगन तथा विनाशकारी उपकरण राखेकोलगायतका गम्भीर अभियोग लगाइएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ६३ वर्षीय मदुरोले अदालतमा आफू भेनेजुएलाको निर्वाचित राष्ट्रपति भएको दाबीसमेत गर्नुभएको छ। संघीय अदालतले यस प्रकरणको अर्को सुनुवाइका लागि आगामी मार्च १७ तारिखको मिति तय गरेको छ।
गत शनिबार अमेरिकाले भेनेजुएलामा सैन्य आक्रमण गरी राष्ट्रपति मदुरोलाई नियन्त्रणमा लिएर न्युयोर्क ल्याएको जनाएको छ। सो कारबाहीका क्रममा करिब तीन दर्जन क्युवाली नागरिकको मृत्यु भएको बताइएको छ।
क्युवा सरकारले मृतकमध्ये ३२ जना आफ्ना नागरिक रहेको र उनीहरू क्युवाली सशस्त्र तथा गुप्तचर निकायसँग सम्बद्ध अधिकारीहरू भएको पुष्टि गरेको छ।
भेनेजुएला सरकारले भने आक्रमणका क्रममा कति मानिस मारिए भन्ने विषयमा अहिलेसम्म औपचारिक विवरण सार्वजनिक गरेको छैन। तर अमेरिकी सञ्चारमाध्यमहरूले कम्तीमा ८० जनासम्मको ज्यान गएको हुन सक्ने अनुमान गरेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया