काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले रुसबाट तेल खरिद घटाउने आफ्नो माग पूरा नगरे भन्सार शुल्क (ट्यारिफ) बढाउने चेतावनी दिएका छन्।
आइतबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘राम्रो मान्छे’ भने पनि आफू सन्तुष्ट नभएको बताएका छन्। “मोदी राम्रो मान्छे हुन्। म खुसी थिएनँ भन्ने उनलाई थाहा थियो, र मलाई खुसी पार्नु महत्वपूर्ण थियो,” ट्रम्पले भने, “उनीहरू तेलको व्यापार गरिरहेका छन्, हामी छिट्टै ट्यारिफ बढाउन सक्छौँ।”
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार यस विषयमा भारतको वाणिज्य मन्त्रालयले हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।
यसअघि पनि व्यापारिक विषयमा अमेरिकाले भारतमाथि ५० प्रतिशतसम्म ट्यारिफ लगाएको थियो। तर त्यसपछि प्रधानमन्त्री मोदी र ट्रम्पबीच भएको वार्तापछि अमेरिका उक्त निर्णयबाट पछि हटेको थियो।
ट्रम्पले अक्टोबरमा भएको भेटमा मोदीले रुसबाट तेल किन्न बन्द गर्ने आश्वासन दिएको तर त्यसको कार्यान्वयन नभएको गुनासोसमेत गरेका छन्। तर रोयटर्सले भने ट्रम्प–मोदीबीचको भेटमा यस विषयमा कुनै छलफल नै नभएको स्पष्टीकरण दिएको छ।
ट्रम्पको पछिल्लो अभिव्यक्तिले भारत–अमेरिका सम्बन्धमा नयाँ कूटनीतिक तनाव सुरु हुन सक्ने विश्लेषण गरिएको छ। हाल रुस भारतको सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता हो।
यसअघि ट्रम्प प्रशासनका अधिकारीहरूले रुसले तेल व्यापारबाट प्राप्त आम्दानी युक्रेन युद्धमा प्रयोग गरिरहेको आरोप लगाउँदै आएका थिए। भारतले रुसी तेल खरिद गरेर पुनः बिक्रीमार्फत अर्बौं डलर आम्दानी गरिरहेको आरोपसमेत लगाइएको छ। भारतमाथि ट्यारिफ बढाउने कदमलाई ट्रम्पले मुख्य रूपमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनमाथि युक्रेन आक्रमण रोक्न दबाब दिने रणनीतिका रूपमा प्रस्तुत गर्दै आएका छन्।
अगस्ट २०२५ मा अमेरिकाले भारतीय वस्तुमा ५० प्रतिशत ट्यारिफ लगाएपछि भारतको निर्यात क्षेत्रमा ठूलो असर परेको बताइएको छ। अमेरिकातर्फ हुने करिब ४८ देखि ५० अर्ब डलर बराबरको निर्यात प्रभावित भएको छ, जुन भारतको कुल निर्यातको १८–२० प्रतिशत हो। सबैभन्दा बढी असर कपडा, छाला, आभूषण, सी–फुड तथा अटोमोबाइल क्षेत्रमा परेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया