एजेन्सी। भेनेजुएलाको नेशनल एसेम्बलीले समुन्द्री डकैती, नाकाबन्दी तथा अन्य अवैध अन्तर्राष्ट्रिय गतिविधिबाट जलयात्रा र व्यापारको स्वतन्त्रता रक्षा गर्ने उद्देश्यले नयाँ कानून पारित गरेको छ।
क्यारिबियन क्षेत्रमा भेनेजुएलाको तेल बोकेका जहाजहरूलाई अमेरिकाले नियन्त्रणमा लिएपछि उक्त कदम चालिएको हो। नेशनल एसेम्बलीका अध्यक्ष जर्ज रोड्रिगेजले मतदानपछि समुन्द्री डकैती, नाकाबन्दी तथा अन्य अन्तर्राष्ट्रिय अवैध कार्यविरुद्ध जल–वाणिज्यको स्वतन्त्रता सुनिश्चित गर्ने कानून पारित भएको घोषणा गर्नुभएको छ।
उक्त कानून विशेष सत्र तथा आकस्मिक प्रक्रियाअन्तर्गत पारित गरिएको हो। कानूनमा समुन्द्री डकैती वा नाकाबन्दीलाई प्रोत्साहन गर्ने, सहयोग गर्ने वा लगानी गर्ने व्यक्तिलाई २० वर्षसम्मको जेल सजाय हुने प्रावधान राखिएको छ।
अधिकारीहरूका अनुसार अमेरिकी खतराका रूपमा व्याख्या गरिएका गतिविधिहरूबाट भेनेजुएलाको व्यावसायिक र राजनीतिक सम्बन्ध सुरक्षित गर्नु यस कानूनको मुख्य उद्देश्य हो। राष्ट्रपति निकोलस मादुरोले राष्ट्रिय सार्वभौमसत्ताको रक्षाका लागि प्रस्ताव गरेको उक्त विधेयकलाई नेशनल एसेम्बलीले सोमबार पहिलो चरणमा अनुमोदन गरेको थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया