महिला फुटबल लिग छनोटमा संकटा र छहारीको जित

273 Shares

काठमाडौं । संकटा क्लव र छहारी युवा क्लबले बिहीवारदेखि शुरु भएको एन्फा राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा सुखद् शुरुआत गरेका छन्। 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा बिहीबार भएको दोस्रो खेलमा संकटाले रौतहटको नेपाल खेलकुद क्लवमाथि १–० को साँघुरो अन्तरमा जित निकाल्दै सुखद् शुरुवात गरेको हो । संकटाको जितमा कप्तान यशोदा शाही ठकुरीले गरेको गोल नै निर्णायक बन्यो । समूह ‘बी’ को संकटा फुटबल क्लबले जित निकाल्यो । सात टोली रहेको समूहका विजेता र उपविजेताले सिधै राष्ट्रिय महिला लिगमा स्थान बनाउनेछन् । कठिन मानिएको समूहमा संकटाले तीन अंक जोड्दै बलियो दाबेदारी दिएको छ ।  

यस समूह ‘बी’ मा संकटा र नेपाल खेलकुद क्लवसँगै न्युरोड टिम (एनआरटी), बुटवल लुम्बिनी एफसी, एनबिएम पोखरा गल्र्स एफसी, झापा एफसी र लम्की फुटबल एनड ट्रेनिङ सेन्टर छन् । संकटामा केही समयअगाडि मात्र एफसी महिला यु–२० एसियन क्वालिफायर खेलेर आएको नेपाली टोलीका स्टार खेलाडीहरू छन् । यो टोलीमा सेनु परियार, सुक्रिया मिया, पूर्णिमा राई, समीक्षा मगर, झुमा विश्वकर्मा र अनिषा राई जस्ता स्टार खेलाडी छन् । यद्यपि, संकटाले गोल निकाल्न भने धेरै संघर्ष गर्नु परेको थियो । खेलको पहिलो हाफमा गोलरहित बराबरीमा सकियो । दोस्रो हाफमा भने गोल निस्कियो ।

६०औं मिनेटमा कप्तान यशोदाले उत्कृष्ट गोल गर्दै अग्रता दिलाइन् । करिब १५ यार्डमा अनमार्क यशोदाले दोस्रो बार च्याप्दै उत्कृष्ट गोल गरिन् । त्यसपछि दुवै तर्फबाट अवसर सिर्जना भए । तर, गोल निस्कन सकेन र संकटाले बलियो टोली नेपाल खेलकुद क्लबमाथि १–० को जित निकाल्यो । उक्त खेलमा कप्तान यशोदा प्लेअर अफ दी म्याच भइन् । जितपछि उनले टोलीको जितमा गोल गर्न पाउँदा धेरै खुसी लागेको बताइन् । आगामी खेलमा आफ्नो स्टार खेलाडीले गोल गर्ने उनको विश्वास छ । दिनको पहिलो खेलमा छहारीले एफसी रियले क्लबमाथि ३–० को जित निकाल्दै सुखद सुरुआत गरेको हो । 

वर्षाबीच सम्पन्न समूह ‘ए’ को खेलमा छहारीले सहज जित निकालेको हो । पहिलो हाफमा दुई गोलको अग्रता लिएको थियो । दोस्रो हाफमा एक गोल सम्भव भयो । वर्षाले प्रभावित खेल ३० मिनेट रोकिएको थियो । निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा मुख्य रेफ्री अञ्जना राईले खेल रोकेकी थिइन् । जितसँगै छहारीले अंकतालिकामा तीन अंक जोडेको छ । समूह ‘ए’ मा चर्च ब्वाइज युनाइटेड एफसी, छहारी फुटबल क्लब, राप्ती एफसी, सिन्धुपाल्चोक एफसी, स्टुडेन्ट्स फुटबल क्लब, आरएस रिसोर्ट एण्ड बीच फुटबल र एफसी रिएले छन् । प्रतियोगितामा सहभागी कुल १४ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

सिंगल राउन्ड रोबिन पद्धत्तिको प्रतिस्पर्धापछि समूहका शीर्ष दुई टोलीले राष्ट्रिय महिला लिगमा स्थान पक्का गर्नेछ । समूहका तेस्रो स्थानमा रहने दुई टोलीमध्येको विजेताले पनि छनोट हुनेछ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले म्याच अफिसियललाई बल हस्तान्तरण गर्दै उक्त महिला लिग छनोटको उद्घाटन गरेका थिए । सो अवसरमा एन्फाका उपाध्यक्ष दावा लामा, महासचिव किरण, नेपाली राष्ट्रिय टोलीकी पूर्वकप्तान एञ्जिला तुम्बापो सुब्बा र वर्तमान कप्तान साबित्रा भण्डारीलगायत उपस्थित थिए ।