कानूनअनुसार खरिद गरेर लिइएको जग्गा निजी सम्पत्ती हो, कसैले दिएको भन्न मिल्दैनः गिरिवन्धु टि स्टेट

305 Shares

काठमाडौँ । कानूनअनुसार खरिद गरेर लिइएको जग्गालाई सरकारले दिएको भन्न नमिल्ने गिरिवन्धु टि स्टेटका प्रतिनिधिहरुले बताएका छन् ।

आज सिंहदरबारमा भएको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा गिरिवन्धु टि स्टेटका प्रतिनिधिहरुले कानूनअनुसार सट्टा पट्टा गरिएको विषयलाई अदालतमा लगेर विवादित बनाउन खोजिएको बताएका छन् । भूमिसम्बन्धी ऐनको दफा १२ को उपदफा (ख) २ मा नेपाल सरकारद्वारा जारी सूचित आदेशमा उल्लेखित हदबन्दी बमोजिम संस्था उद्योग, प्रतिष्ठान, कम्पनी वा आयोजनाले खरिद गरेर लिएको जग्गा हदबन्दी छुट हुने भन्ने व्यवस्था छ । 

चिया खेती र चिया उत्पादन गर्न सोही दफाअनुसार खरिद गरेर गिरिवन्धु टि स्टेटको जग्गा लिइएको गिरिवन्धु टि स्टेटका प्रतिनिधि कृष्णप्रसाद भण्डारी बताउनु भयो । उहाँले यो जग्गा नेपाल सरकार, अन्य निकाय कसैले गिरिवन्धु टि स्टेटलाई जग्गा नदिएको प्रष्ट पार्नुभयो । उहाँले त्यसरी दिने कानून पनि नरहेको उल्लेख गर्नुभयो ।