मेची भन्सारबाट ३२ प्रतिशतले बढ्याे चिया निर्यात, अलैँचीको निर्यातमा भने गिरावट

270 Shares

झापा। गत आर्थिक वर्ष २०८१/८२ मा मेची भन्सार कार्यालयबाट चिया निर्यातमा उल्लेख्य वृद्धि भएको छ। 

कार्यालयले दिएको तथ्याङ्क अनुसार गत साउनदेखि असार मसान्तसम्मको अवधिमा ४ अर्ब २१ करोड ३५ लाख ९२ हजार बराबरको चिया निर्यात गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३२.५० प्रतिशतले बढी हो।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार सो अवधिमा १५ हजार ४१६ दशमलव ७५६ मेट्रिक टन चिया निर्यात गरिएको हो। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा भने ३ अर्ब १७ करोड ९५ लाख २७ हजार बराबरको मात्र चिया निर्यात भएको थियो।

चिया निर्यातमा वृद्धि भए पनि सोही अवधिमा अलैँचीको निर्यातमा भने तीन दशमलव २० प्रतिशतले गिरावट आएको छ। २०८१/८२ मा ७ अर्ब ६७ करोड ४० लाख ३७ हजार बराबरको अलैँची निर्यात भएको थियो।

मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा कुल २५ अर्ब १३ करोड ९७ लाख ५० हजार बराबरको विभिन्न मालवस्तु निर्यात भएको जनाएको छ।