काठमाडौँ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अबदेखि एकै पटक २९ वटा जहाज पार्किङ गर्न सकिने भएको छ ।
बिहीबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिबारे जानकारी गराउँदै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले यसबारे जानकारी गराउनुभएको हो । उहाँका अनुसार इन्टरनेशनल पार्किङ एप्रोनमा यसअघि ११ वटा मात्रै विमानहरु पार्किङ गर्न सकिन्थ्यो ।
अब न्यारोबडी १८ वटा, वाइडबडी र न्यारोबडी मिलाएर राख्दा ६/६ वटा राख्न सकिने बताउनु भयो । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धि भइरहेको बताउँदै पार्किङको पनि क्षमता बढेको बताउनु भयो । अब टर्मिनलको क्षमता वृद्धि गर्न जरुरी रहेको उहाँको भनाइ छ । एप्रोन, रनवे, प्यारालल ट्याक्सीवेको काम लगभग सम्पन्न भएको पनि जानकारी दिनुभयो ।
अहिले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तारको काम भइरहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभूवन विमानस्थलमा हवाई यात्रा गर्ने यात्रुको चाप अत्यधिक वृद्धि भएसँगै गुरुयोजना अध्यावधिक गरी क्रमिकरूपमा क्षमता विस्तारको कार्य गरिरहेको छ । विमानस्थलमा १५ अर्ब रुपैयाँ लागतको धावनमार्ग जोड्ने ट्याक्सी वे, समानान्तर ट्याक्सी वे, अन्तर्राष्ट्रिय एप्रोन, आन्तरिक एप्रोन, आन्तरिक वायुसेवाका लागि ह्यांगरलगायत निर्माण कार्य जारी छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया