नेरेसो काभ्रेद्वारा बाढीपहिरोले क्षति खानेपानी आयोजना मर्मत गरि उपभोक्तालाई हस्तान्तरण

502 Shares
  • ज्ञानमणि नेपाल कालाेटाेपी

बेथानचोक । नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक जिल्ला शाखाबाट खानेपानीको योजना मर्मत कार्य सम्पन्न गरि उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ । 

नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक जिल्ला शाखा, नेरेसो केन्द्रीय कार्यालयको समन्वय तथा ब्रिटिश रेडक्रसको आर्थिक सहयोगमा जिल्लाको बेथानचोकमा सञ्चालित योजनाहरु बुधबार उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको हो । गत असोजको दोस्रो साता परेको अविरल वर्षापछिको  बाढीपहिरोले क्षति भएका योजनाहरु मर्मत गरिएको हो ।

WhatsApp Image 2025-07-23 at 21.56.29.jpeg

पुनर्लाभ कार्यक्रम अन्तर्गत बेथानचोक गाउँपालिका वडा नं  ४ खहरेखोला टोलमा खहरेखोला खानेपानी र गणेशस्थान टोलमा प्रावलडोल गणेशस्थान खानेपानी आयोजनाको मर्मत तथा निर्माण कार्य सम्पन्न गरि उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको नेरेसो काभ्रेले जनाएको छ । 
नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक जिल्ला सभापति देवेन्द्रप्रसाद भैल, उपसभापति पुष्पा खड्का बस्नेत, कोषाध्यक्ष प्रेमकुमार तामाङ, उपमन्त्री प्रदीप केसी बञ्जारा, वडा अध्यक्ष कृष्णबहादुर लामा तथा उपभोक्ता समिति र समुदायको उपस्थितीमा सार्वजनिक सुनुवाइ तथा योजना हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको हो ।  

योजना निर्माण कार्य बेथानचोक गाउँपालिका वडा नं ४ का स्थानीयबासी, बाढीपहिरो  प्रभावित समुदाय र रेडक्रससँगको सहकार्यमा सम्पन्न गरिएको नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक शाखाले जनाएको छ ।

कुन कुन योजना हस्तान्तरण भए ?
प्रावलडोल गणेस्थान खानेपानी, यसको कूल लागत ३ लाख ३६ हजार ५०५ रहेकोमा रेडक्रसबाट २ लाख ९५ हजार ३५१ र समुदायबाट ४१ हजार १५० रहेको छ । यस्तै बेथानचोक ४ मा रहेको सिमसिमे खानेपानी योजना, यसको कूल लागत २ लाख ४४ हजार ४३९ रहेकोमा रेडक्रसबाट २ लाख २९ हजार १८९ रहेको छ । अँधेरी खोला खानेपानी आयोजना, कूल लागत ३ लाख १९ हजार २७९ रहेकोमा रेडक्रसबाट ३ लाख ५ हजार ६६० रहेको छ । यस्तै खहरेखोला खानेपानीको कूल लागत ३ लाख ३ हजार ६१० रहेकोमा रेडक्रसबाट २ लाख ८८ हजार ६१० रहेको छ । 

यसैगरि क्वामराङ खानेपानी योजनाको कूल लागत १० लाख ७८ हजार ९५८ रहेकोमा रेडक्रसबाट १० लाख ११ हजार ४०८, सिक्रिघाङ खानेपानी योजनाको कूल लागत ३ लाख १७ हजार ४३३ रहेकोमा रेडक्रसबाट २ लाख ९९ हजार २३३ रहेको छ । यी लगायत कूल १३ योजना हस्तान्तरण भएका छन् । जसको कूल लागत ६३ लाख ५५ हजार ८७० रहेकोमा रेडक्रसबाट ५४ लाख २७ हजार ८५१ र बाँकी समूदायबाट रहेका छन् । 

यस्तै वडा नम्बर २ मा ४० परिवार र ४ नम्बर वडामा ५५ परिवारलाई स्वरोजगारका लागि प्रतिपरिवार ४० हजारका दरले वितरण गरिने लक्ष्य लिइएकोमा आधा रकम वितरण भइसकेको र बाँकी पछि वितरण गरिने नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक शाखाका सभापति देवेन्द्रप्रसाद भैलले जानकारी दिनुभयो ।