गत आर्थिक वर्षमा २ खर्ब ७७ अर्ब बढीको निर्यात, कुल वैदेशिक व्यापार २० खर्ब ८१ अर्ब

310 Shares

काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा निर्यात उल्लेख्यरुपमा वृद्धि भएको छ । भन्सार विभागले जानकारी दिए अनुसार एक वर्षको अवधिमा ८१.८० प्रतिशतले निर्यात वृद्धि भएको  छ । 

तथ्यांक अनुसार गत आर्थिक वर्षमा २ खर्ब ७७ अर्ब ३ करोड २ लाख २ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा भने १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख ४४ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो । 

गएको एक वर्षको अवधिमा वैदेशिक व्यापार २० खर्ब ८१ अर्ब १५ करोड २९ लाख ३३ हजार रुपैयाँ पुगेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.२४ प्रतिशतले धेरै हो । अघिल्लो आर्थिक वर्षमा वैदेशिक व्यापार १७ खर्ब ४५ अर्ब ३६ करोड ६७ लाख ७२ हजार रुपैयाँ बराबरको भएको थियो ।

विभागका अनुसार समीक्षा अवधिमा १८ खर्ब ४ अर्ब १२ करोड २७ लाख ३१ हजार रुपैयाँ बराबरको वस्तु नेपालमा आयात भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नेपालमा १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख २८ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । आयात १३.२५ प्रतिशतले बढेको हो । 

गत आर्थिक वर्षमा नेपालको व्यापार घाटा १५ खर्ब नाघेको छ । विभागका अनुसार असार मसान्तसम्म १५ खर्ब २७ अर्ब ९ करोड २५ लाख रुपैयाँ बराबर व्यापार घाटा रहेको छ ।