आज शेयर बजारमा ठूलै उतारचढाव, साढे २१ अर्बको कारोबार

304 Shares

काठमाडौं । साताको पहिलो काराेबार दिन आज शेयर बजारमा ठूलै उतारचढाव देखिएको छ । अघिल्लो कारोबार दिन २ हजार ८७० अंकमा रहेर बन्द भएको बजार आइतबार कारोबारका क्रममा दिउँसो १ बजे ५२ अंक बढेर २ हजार ९२२ मा पुगेको थियो । 

अन्ततः अघिल्लो दिनकै अंक २ हजार ८७० मा झरेर बन्द भयो । अन्तिम १५ मिनेटको भारित औसत मूल्य समायोजन नहुँदा भने बजार अघिल्लो दिनको तुलनामा २.८७ अंक घटेर २ हजार ८६७ अंकमा झरेको थियो । भारित औसत मूल्य समायोजनपछि अघिल्लो दिनको तुलनामा नेप्से जम्मा ०.३२ अंक मात्रै बढेको हो ।

बजारको उतारचढाव ठूलो हुँदा कारोबार रकम भने बढेको छ । कुल २१ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भयो । यो कारोबार रकम ११ महिना (२ भदौ)यताकै उच्च हो । गत वर्षको साउन ३२ गते हालसम्मकै उच्च २९ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको रेकर्ड छ।

आज १०५ कम्पनीको मूल्य बढ्दा १४४ को घट्यो । फाइनान्स समूह सबैभन्दा धेरै २.२६ प्रतिशत घट्यो । त्यस्तै बैंकिङ १.३८, विकास बैंक ०.०८, हाइड्रोपावर ०.४२, लगानी ०.१६, उत्पादन तथा प्रशोधन १.१२, माइक्रोफाइनान्स ०.०२ तथा व्यापार ०.५० प्रतिशत घटे । अन्य समूह सबैभन्दा धेरै ३.३६ प्रतिशत बढ्यो । होटल तथा पर्यटन १.२४, जीवन बीमा १.४० र निर्जीवन बीमा १.३७ प्रतिशत बढे ।