नेपाल सरकारले तोकेको नयाँ न्युनतम पारिश्रमिकप्रति जेटियुसिसीको असहमति

355 Shares

काठमाडाैं । नेपाल सरकारले श्रमिकहरूको न्युनतम पारिश्रमिक १९ हजार ५५० रुपैयाँ तोकेपछि संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी)ले उक्त निर्णयप्रति असहमति जनाएको छ ।

शुक्रबार संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले पत्रकार सम्मेलनको आयोजना गर्दै असहमति जनाएको हो । यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले साउन १ गतेदेखि लागू हुने गरी पारिश्रमिक वृद्धि गरेको थियो । जेटियुसिसीका महासचिव इन्द्रदेव मिश्रले पारिश्रमिक वृद्धि निर्णय प्रक्रियामै त्रुटी भएको आरोप लगाउनु भयो । 

उहाँले न्यूनतम पारिश्रमिक निर्धारण समितिमा जेटियुसिसीका तीन जना प्रतिनिधि रहेकोमा एक सदस्यले स्पष्ट असहमति जनाउँदासमेत बाँकी दुई सदस्यको हस्ताक्षरको आधारमा निर्णय गर्नु अन्यायपूर्ण र गैरप्रजातान्त्रिक भएको उहाँको भनाइ छ । सरकार, रोजगारदाता तथा ट्रेड युनियनबीचको त्रिपक्षीय सहमतिमा एकपक्षीय ढंगले हस्ताक्षर गरिएको भन्दै निर्णय पुनर्विचार गर्न माग गर्नुभयो । जेटियुसिसीले लामो समयदेखि श्रमिकको न्यूनतम पारिश्रमिक  ३० हजार ४४३ रुपैयाँ ज्याला तोक्नुपर्ने माग राख्दै आएको छ ।